नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र भ्रष्टाचार, अनियमितता र विकृतिमा शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले पार्टीको खस्किएको साख पुनःस्थापना गर्ने, जनविश्वास फर्काउने र पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः जोड्ने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचित भएपछि पहिलो पटक उपस्थित भएर सञ्चारकर्मी, नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसलाई सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा उभ्याउने बताउनुभयो । पार्टीसँग आबद्ध भएकै आधारमा कसैले पनि भ्रष्टाचार वा अनियमिततामा उन्मुक्ति नपाउने उहाँको भनाइ थियो ।
उहाँले आफ्नो निर्वाचनलाई कसैको जित वा हारका रूपमा नलिन आग्रह गर्दै अब सबैलाई जिम्मेवारी र अपनत्वको अनुभूति हुने गरी पार्टी अघि बढाउने बताउनुभयो । महाधिवेशनमा प्रतिस्पर्धा भए पनि त्यसपछि सबै पक्षलाई समेटेर कांग्रेसलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउनु आफ्नो दायित्व रहेको उहाँले स्पष्ट पार्नुभयो ।
सभापति थापाले कांग्रेसलाई चुनाव जित्ने संगठनमा मात्र सीमित नराखी जनताको विश्वास र भरोसाको केन्द्रका रूपमा स्थापित गर्ने सङ्कल्प व्यक्त गर्नुभयो । नेतृत्व र कार्यशैलीमा सुधार गर्दै आम नागरिकले पार्टीप्रति राखेको अपेक्षा पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पार्टीभित्रको असन्तुष्टि सम्बोधन गर्दै बाहिरिएका नेता तथा कार्यकर्तालाई पुनः जोड्नु र संगठनलाई नयाँ ऊर्जा दिनु आफ्नो प्राथमिकता रहेको उहाँले बताउनुभयो । पार्टीलाई जनतासँग थप नजिक बनाउँदै संगठनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापासामु पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्ने, विभिन्न समूहबीच समन्वय कायम गर्ने र संगठनलाई एकताबद्ध बनाउने चुनौती छ । सुशासन, पारदर्शिता र संगठनात्मक सुधारका प्रतिबद्धता कार्यान्वयन गर्नु नयाँ नेतृत्वका लागि प्रमुख चुनौती हुनेछ ।

प्रतिकृयाहरु