बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपनस्थित लसुनटारका युवाहरूले एउटा प्रशंसनीय कार्यको थालनी गरेका छन्। स्थानीय युवाहरूको सक्रियता र पहलमा नेपाल पुलिस केन्द्रीय विशेष कार्यदल कपनको परिसरमा 'वाल' (पर्खाल) निर्माण कार्य सुरु गरिएको हो।

यो निर्माण कार्यलाई मूर्तरूप दिन लसुनटारका युवाहरूले पाल पुलिस केन्द्रीय विशेष कार्यदल कपन, वडा कार्यालय र प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गरेका थिए। सरकारी निकायहरूले पनि युवाहरूको यो सकारात्मक प्रस्तावलाई स्वीकार गर्दै आवश्यक सहयोग उपलब्ध गराएको स्थानीय युवाहरूले बताएका छन्।

नेपाल पुलिस केन्द्रीय विशेष कार्यदल एउटा महत्त्वपूर्ण र संवेदनशील सुरक्षा निकायको भाग  हो। यसको परिसरलाई थप व्यवस्थित र सुरक्षित बनाउन यो निर्माण कार्यले ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। युवाहरूले आफ्नो क्षेत्रको विकास र सुरक्षामा राज्यको मात्र मुख नताकी आफैँ पनि सक्रिय हुनुपर्छ भन्ने सन्देश यो कार्यबाट दिएका छन्।

लसुनटारका युवाहरू सामाजिक कार्यमा सधैँ अग्रसर रहँदै आएका छन्। यसअघि पनि उनीहरूले आफ्नो टोल र समुदायको हितका लागि विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेका थिए। उनीहरूको यो पछिल्लो पहलले समुदायमा सकारात्मक ऊर्जा थपेको छ र अन्य क्षेत्रका युवाहरूका लागि पनि एउटा राम्रो उदाहरण बनेको छ