रुकुमपश्चिममा दुई जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले हवाई फायर गरेर लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । 

प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार बिहीबार बेलुका आठविसकोट नगरपालिका –४ छोटेबगरमा तीन किलोग्राम अफिमसहित दुई जनालाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेहरुमा आठविसकोट नगरपालिका –३ स्यालाखदी बस्ने २८ वर्षीय टीकाराम बोहरा र आठविसकोट नगरपालिका –२ स्याला बस्ने २० वर्षीय गणेश ओली रहेको डिएसपी पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीबाट एक राउन्ड हवाई फायर गरिएको थियो । हवाई फायरपछि उनीहरुले प्रहरीमाथिको आक्रमण रोकेका थिए । लागुऔषध नियन्त्रण व्युरो कर्णाली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीले सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला रोकेर उनीहरुमाथि चेकजाँच गर्न खोज्दा टीकाराम बोहराले बोकेको झोलाबाट गणेश ओलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरी सहायक निरीक्षक निरजबहादुर पालले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको डिएसपी पौडेलले जानकारी दिनुभयो । 

नियन्त्रणपछि गरिएको शरीर तथा झोला खानतलासीका क्रममा तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।