बुढानीलकण्ठ नगरपालिका र ललितपुर महानगरपालिकाका सुशासन तथा संस्थागत विकास समितिका पदाधिकारीहरूबिचको अन्तरक्रिया कार्यक्रम २१ कात्तिक, शुक्रबार महानगरपालिकाको हलमा सम्पन्न भयो । ललितपुर महानगरपालिकाका सुशासन तथा संस्थागत विकास समिति संयोजक गोपाल महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ललितपुर महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाका सुशासन समिति पदाधिकारी तथा प्रशासन महाशाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । ललितपुर महानगरपालिकाबाट समिति संयोजक गोपाल महर्जनका साथमा समिति सदस्यहरू विनोद महर्जन र लक्ष्मी शर्माको उपस्थिति रहेको थियो भने बुढानीलकण्ठ नगरपालिकाबाट समिति संयोजक शम्भु प्रसाद भट्टराईका साथमा समिति सदस्यहरू राजेन्द्र श्रेष्ठ, मुना देसार महर्जन, झपट बहादुर कार्की र बालमाया श्रेष्‍ठको उपस्थिति रहेको थियो ।

ललितपुर महानगरपालिका सामान्य प्रशासन महाशाखका निर्देशक देव प्रसाद गुरागाईँले सञ्‍चालन गर्नुभएको कार्यक्रममा दुवै पालिकाका सुशासन तथा संस्थागत विकास समितिका कार्यहरू र महत्वपूर्ण उपलब्धिलाई समेटिएको प्रस्तुतीकरण गरिएको थियो । बुढानीलकण्ठ नगरपालिकाले तयार पारेको प्रस्तुतीकरण नगरपालिकाका प्रशासन महाशाखा प्रमुख महेश प्रसाद पाठकले गर्नुभएको थियो । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका सुशासन तथा संस्थागत विकास समिति संयोजक शम्भु प्रसाद भट्टरार्इले सुशासन तथा संस्थागत विकासका विविध आयामहरूको विषयमा अन्तरपालिकाका असल अभ्यासहरूको अवलोकन तथा नवीन प्रवृत्तिहरूको सिकाइले समग्र पालिकाको विकासमा सहयोग पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा अध्यक्षता गर्नुभएका ललितपुर महानगरपालिकाका सुशासन तथा संस्थागत विकास समिति संयोजक गोपाल महर्जनले २०५४ सालदेखिका जनप्रतिनिधिको रुपमा हासिल गरेको अनुभवले सुशासनका क्षेत्रमा काम गर्न सहज भएको बताउनुभयो । सो अवसरमा उहाँले पछिल्लो समयमा छिटो छरितो सेवा हासिल गर्ने जनअपेक्षा स्वभाविक भएकोले ललितपुर महानगरपालिकाकले अधिकांश सेवाहरूलार्इ सूचना प्रविधिको माध्यमबाट छिटो उपलब्ध गराउन पहल गरेको बताउनुभएको थियो ।