ऐँसेलुखर्क गाउँपालिका जोड्ने ६  सय मिटर सडकमा हालसम्म तीन करोड रुपियाँभन्दा बढी रकम खर्च भएको छ। २०७२ सालमा ट्र्याक खोलिएको कच्ची सडक मर्मतका लागि मात्र तीन करोड २८ लाख रुपियाँ खर्च भएको हो। 

ऐँसेलुखर्क गाउँपालिका–७, माक्पा र रावा बेँसी गाउँपालिका–५, दुबेकोलको सिमानामा पर्ने भिरपानी कच्ची सडक मर्मतका लागि मात्र त्यति धेरै रकम खर्च भएको हो। भिरपानी सडक त्यही बाटो हो, जहाँ हरेक वर्ष बर्खा लागेसँगै गाडी फस्ने तथा थुनिने गर्छ। ग्रेड नमिलाई खनिएको भिरपानी सडक ट्र्याक खोल्ने क्रममा  ठुलो चुनौती मोलिएको सडक निर्माणमा संलग्नहरू बताउँछन्। 

२०६९ सालमा दुबेकोलको बसेरीमा पुगेर छाडिएको सडक ऐँसेलुखर्क बजारसम्म २०७२ सालमा मात्र पुगेको थियो। दुबेकोल र माक्पाको सिमानामा पर्ने भिरपानीमा रहेको चट्टान फोड्न नसकेपछि केही वर्ष स्थगित भएको थियो। पटक पटक चट्टान फोड्ने प्रयास गर्दा पनि असफल भएपछि स्थानीय बासिन्दा  चिन्तित भई पञ्चौली पूजासमेत गरेका थिए। 

हरेक प्रयासपश्चात् २०७२ सालमा भिरपानीको चट्टान फोडेर ऐँसेलुखर्क सडक पुगे पनि ग्रेड नमिल्दा भिरपानीमा हरेक वर्ष समस्या आइरहेको छ। भिरपानीको चट्टान फोड्न मात्र सडक डिभिजन कार्यालय ओखलढुङ्गामार्फत १५ लाख, तत्कालीन जिल्ला विकास समितिबाट सात लाख, ऐँसेलुखर्क बजारबाट स्थानीय बासिन्दा तथा व्यापारीले उठाएको आठ लाख, तत्कालीन सांसद पाँचकर्ण राईको सांसद विकास कोषबाट १० लाख र विभिन्न सङ्घ संस्थाबाट उठाइएको चार लाख रुपियाँ खर्च भएको  बताइन्छ। 

ऐँसेलुखर्क बजार तथा हालको ऐँसेलुखर्क गाउँपालिकाको कार्यालय जान अर्को वैकल्पिक इलिम, माक्पा, थामखर्क सडक पनि रहेको छ तर छोटो भएकाले भिरपानीको सडक सबैले प्रयोग गर्दै आएका छन्। सोलुखुम्बुको जुबु र लोखिमका गाडी पनि भिरपानीको बाटो हुँदै काठमाडौँ आउने जाने गर्छन्। ट्र्याक ओपनमा ग्रेड नमिलेपछि सुरुवाती दिनदेखि नै सडकमा गाडी फस्ने समस्या आउन थालेको स्थानीय बासिन्दा बताउँछन्। बर्खाको समयमा यात्रु तथा सवारी चालकले झनै सास्ती खेप्नुपरेको छ।  

स्थानीय सरकार गठनपश्चात् २०७४ सालमा भिरपानी सडक मर्मतका लागि १० लाख रुपिायँ बजेट छुट्याइएको थियो। अर्को वर्ष पुनः २० लाख रुपियाँ बजेट ऐँसेलुखर्क गाउँपालिकाले सडक मर्मतका लागि विनियोजन गरेको थियो। आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय सरकारबाट दुई करोड र गाउँपालिकाको ५० लाख रुपियाँ भिरपानीको सडक मर्मतमा खर्च भएको छ। हरेक वर्ष बर्खामा माथिबाट पहिरो झरेर सडक पुरिने गरेको छ। गत आर्थिक वर्षमा पनि गाउँपालिकाको १५ लाख रुपियाँ बजेट सोही सडकमा खर्च भएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताउनुभयो।

सडकमा हरेक वर्ष समस्या आएपछि यो वर्ष सोलिङ गर्ने गाउँपालिकाले योजना बनायो । चालु आर्थिक वर्षमा विनियोजन भएको ३० लाख रुपियाँ बजेटमा २३ लाख रुपियाँमा ठेक्का सम्झौता भएर हाल भिरपानीको करिब छ सय मिटर सडक सोलिङ गरिएको छ। प्रधानमन्त्री स्वरोजगार कार्यव्रmमअन्तर्गत तीन लाख रुपियाँमा सोलिङ भएको हो। अन्य भाग ठेक्कामार्फत सोलिङ गरिएको अध्यक्ष राईको भनाइ छ।  

हरेक वर्ष दुःख दिइरहने भिरपानीको सडकलाई अब ढलान गर्ने योजनामा गाउँपालिका रहेको अध्यक्ष राईले बताउनुभयो। केही वर्षभित्रै ढलान गरेर समस्या समाधान गरिने उहाँको भनाइ छ।