कपिलवस्तु पुस १९ गते । खेर जाने सालको पातबाट दुना टपरी निर्माण गरेर स्थानीय थारु समुदायको दैनिकी फेरिएको छ । यहाँको विजयनगर गाउँपालिकाका थारु समुदायका महिलाको दुना टपरी व्यवसायले दैनिकी फेरिएको हो ।

फुर्सद भएकाबेला घरमै बस्दैआएका वडा १ जवावैराठका महिला आजभोलि दुना टपरीले उद्यमी भएका छन् । फुर्सदको समय भएपछि उहाँहरु स्थानीय वनमा गएर सालको पात टिपेर ल्याउने गरेका छन् । टिपेको पातलाई हातले उनेर दुना टपरी निर्माण गरी नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कृष्णनगर बजारमा गई विक्री गर्दैआएको स्थानीय सविता थारुले बताउनुभयो ।

एक जनाले दैनिक ३ सय दुना टपरी निर्माण गर्दैआएको उहाँले जानकारी दिनुभयो । एक दशकदेखि फुर्सदको समय सदुपयोग गर्दै आइरहेको महिलाले बताएका छन् । जिल्लाको बिकट क्षेत्रको रुपमा मानिदै आएको जवावैराठमा वन क्षेत्र प्रशस्त भएको र सालको बोट पनि धेरै भएको हुँदा पातको अभाव नहुने थारुले बताउनुभयो ।

स्थानीय बजारमा सय थान दुना टपरीलाई ६० रुपियाँको दरले बिक्री गर्नेगरेको उहाँले बताउनुभयो । एक हप्तासम्म निर्माण गरेका सामग्री विक्री गर्न बजार लग्ने गरिएको उहाँको भनाई छ । दुना टपरी बनाउने नयाँ प्रविधि र उपकरण बजारमा आएको भएपनि आर्थिक अवस्था न्यून भएको कारणले खरिद गर्न नसकिएको सविताका छिमेकी दरवारी थारुले बताउनभयो । आफूहरुसँग भएको परम्परागत सीपको प्रयोग गरी आयआर्जन गरिरहेको उहाँको भनाई छ ।

प्रविधिको युग भएपनि हामी हातले बुन्नुपर्ने बाध्यतामा छौं उहाँले भन्नुभयो । मुख्य रुपमा कृषि पेसा गर्दै आएपनि फुर्सदको समयमा दुना टपरी बनाउने गरेको उहाँहरुको भनाई छ । मेहनतअनुसारको मूल्य नपाए पनि दैनिक गुजाराको लागि आर्थिक सहयोग भइरहेको ती समुदायका महिलाको भनाई छ ।

सालको पात र अन्य सामग्री निःशुल्क पाइने भएको र फुर्सदको समय मिलाएर काम गर्न मिल्ने भएकाले सहज भएको उहाँहरुको भनाई छ । प्लास्टिक र कागजले बनेका सामग्रीले बजार लिएपछि दुना टपरीको बजार खुम्चिँदै गएको दरवारीले बताउनुभयो । हाल धार्मिक कार्यको लागि बढी दुना टपरीको प्रयोग हुनेगरेको दरवारी थारुको भनाई छ । सालको पातले बनेको दुना टपरीको प्रयोग पछि खेतबारीमा राम्रो मल पनि बन्ने हुनाले यसको प्रयोगले कृषकलाई फाइदा हुनेगरेको उहाँको सुझाव छ ।