नेपाली फुटबलको महत्वकांक्षी प्रतियोगिता शहिद स्मारक ‘ए’ डिभिजन लिग शुक्रबारदेखि सुरु हुँदैछ ।

दशरथ रंगशालामा हुने लिगको उद्घाटन खेलमा ललितपुरको फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्दैछन् । उपत्यकाको पुरानो क्लब फ्रेन्ड्स लिगमा सम्मानजनक नतिजा ल्याउने योजानमा छ । पहिलो पटक ‘ए’ डिभिजन लिगको स्वाद चाख्न लागेको सातदोबाटो युथ क्लब पनि आफूलाई सम्झन योग्य टोलीको रुपमा चिनाउने तयारीमा छ ।

लिगअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले सुखद सुरुवात गर्ने दाबी गर्नु भएको छ । फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले लिगको सुरुवातमा सजग भएर खेल्ने बताउनुभयो ।

‘हामीले राम्रो तयारी गरका छौँ । फ्रेन्ड्सको पहिलो योजना रेलिगेसन जोगाउने हो । विस्तारै स्थान सुधारका लागि प्रयास गर्नेछौँ’, मिश्रले भन्नुभयो, ‘उद्घाटन खेलमा सातदोबाटोलाई हराउने लक्ष्य राखेका छौँ । नयाँ क्लबको जोस पनि नयाँ नै हुन्छ । फ्रेन्ड्सले राम्रो तयारी गरेकाले सजक भएर खेल्नेछ,’ मिश्रले भन्नुभयो ।

सातदोबाटोका प्रशिक्षक मेघराज केसीले क्लबका लागि ‘ए’ डिभिजन नयाँ भए पनि टोलीमा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको बताउनुभयो । ‘हामीले चार महिना लामो तयारी गरेका छौँ । पहिलो पटक शीर्ष डिभिजन खेल्न लागेकाले क्लब व्यवस्थापन उत्साहित छ’, केसीले भन्नुभयो, ‘‘ए’ डिभिजन खेल्ने सबै टोली बलिया नै हुन्छन् । यस लिगबाट हामी सातदोबाटोलाई प्रतिस्पर्धी क्लबले हेर्ने दृष्य फरक बनाउन चाहन्छौँ ।’

तीन महिला चल्ने लिगका सुरुवाती दुई चरणका खेल दशरथ रंगशालामा खेलाउने तयारी आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको छ । लिग फुटबलको माहोल तताउन दशरथ रंगशालाका खेल ‘फ्ल्ड लाइट’ मा खेलाइन लागिएको लिग निर्देशक सन्जीव मिश्रले बताउनुभयो । एन्फाले दशरथ रंगशालासँगै एन्फा मैदान सातदोबाटो, च्यासल र पोखरा रंगशालामा समेत लिगका खेल सञ्चालन गर्न लागेको मिश्रले बताउनुभयो ।

लिगमा साविक विजेता मच्छिन्द्रसँगै त्रिभुवन आर्मी, एपीएफ, संकटा, नेपाल पुलिस, हिमालयन शेर्पा, सातदोबाटो युथ, मनाङ मस्र्याङ्दी, थ्री स्टार, एनआरटी, फ्रेन्ड्स, च्यासल युथ, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज क्लब गरी १४ क्लबको सहभागिता रहने छ ।

कूल ९१ खेल हुने लिगमा प्रत्येक टोलीले १३÷१३ खेल खेल्नेछन् । लिगको विजेता टोलीलाई ७५ लाख, उपविजेता टोलीलाई ५० लाख र तेस्रो हुने टोलीलाई २५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।

यसैगरी व्यक्तिगत स्पर्धातर्फ ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई तीन लाख, उत्कृष्ट गोलरक्षकलाई ‘गोल्डेन ग्लोब’ सहित दुई लाख, सर्वाधिक गोलकर्तालाई ‘गोल्डेन बुट’ सहित दुई लाख रुपैयाँ र ‘राइजिङ प्लेयर’ लाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।