विद्यालय व्यवस्थापन र शिक्षकको मिहिनेतले निजी स्रोतबाट सञ्चालित बोर्डिङ स्कुलभन्दा सामुदायिक विद्यालय विद्यार्थीको रोजाइमा पर्छन् भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ, दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय । 

यो विद्यालयमा बोर्डिङ स्कुल छोडेर भर्ना गर्नेको लर्को लाग्ने गरेको छ । यस विद्यालयमा दुई हजार सात सय विद्यार्थी अध्ययन गर्छन् । धेरैको रोजाइमा परेकाले विद्यालयले भर्नालाई थेग्न नसकेर ठूलो सङ्ख्यामा विद्यार्थी फिर्ता गरेको छ ।

सामुदायिक भएर पनि उत्कृष्ट नतिजा ल्याउने गरेकाले विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको हो । भौतिक पूर्वाधारको अभावले गर्दा एक हजार पाँच सय विद्यार्थी भर्ना गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले बताउनुभयो । 

यस शैक्षिक सत्रमा तीन सय विद्यार्थीको थप भर्ना माग भएकोमा निजी विद्यालय छाडेर भर्ना गर्न आउनेको चाप बढेपछि यतिको विद्यार्थी फिर्ता पठाउनु परेको उहाँले जानकारी दिनुभयो ।

 भौतिक पूर्वाधार थप गर्ने हो भने पाँच हजार विद्यार्थी भर्ना गर्न सकिन्छ, अध्यक्ष काफ्लेले भन्नुभयो, “जग्गाको अभावले पूर्वाधार थप गर्न समस्या परेको छ । कृषि विकास बैङ्कको नाममा रहेको जग्गा र घर भाडा लिने योजना पनि उहाँले सुनाउनुभयो । 

सो विद्यालयको नाउँमा साढे चार रोपनी जमिन रहेको छ । त्यसमा थप १० रोपनी सार्वजनिक जग्गा भाडामा लिई साढे १४ रोपनी क्षेत्रफलमा विद्यालय फैलिएको छ । कक्षा ९ र १० मा सात सेक्सन, ८ मा ६ सेक्सन, ७ मा ४ सेक्सन र ६ मा ३ सेक्सन सञ्चालन 

गर्नुपरेको प्रधानाध्यापक एकबहादुर गुरुङले बताउनुभयो ।

गुणस्तरीय शिक्षा प्रदान गरेकाले नै यस विद्यालयमा तनहुँको अतिरिक्त गोरखा, लमजुङ र कास्कीबाट विद्यार्थी आउने गर्छन् । २०७० सालको एसएलसीमा यो विद्यालय प्रथम भएको थियो । २०६८ सालदेखि विज्ञान विषयमा कक्षा ११ र १२ सञ्चालन भइरहेको छ । 

त्यस्तै कक्षा ९ देखि १२ सम्म प्राविधिक कम्प्युटर इन्जिनियरिङ विषयको पनि पठनपाठन भइरहेको छ । यस विद्यालयलाई नेपाल सरकारले नमुना विद्यालयका रूपमा छनोट गरेको छ ।