काठमाडौँ, कात्तिक २६ गते  । विश्वकप फुटबल सुरु हुने दिन नजिकिँदै गर्दा आप्रवासी श्रमिकको शोषणका मुद्दा चर्काे रूपमा उठ्न थालेका छन्। महाकुम्भका रूपमा कतारमा मङ्सिर ४ गते सुरु हुने विश्वकप फुटबल प्रतियोगिता सञ्चालन गर्ने रङ्गशाला निर्माणमा खटिएका आप्रवासी श्रमिक चरम शोषण भएको प्रतिवेदन बाहिरिएका छन्। एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका प्रतिवेदनले कतारमा रङ्गशाला निर्माणका क्रममा आप्रवासी श्रमिकमाथि शोषण भएका घटना बाहिर ल्याइरहेका हुन्। 

कतारले विश्वकप आयोजना गर्ने निर्णय हुँदा कतारसँग दुईवटा मात्र रङ्गशाला थिए। अहिले कतारसँग आठवटा रङ्गशाला छन्। यसबाहेक हजारौँ किलोमिटर नयाँ सडक, रेलमार्ग, विमानस्थल र सयौँ होटल बनाइएका छन्। १० वर्षमा कतारले बनाएका यी संरचना निर्माणका क्रममा हजारौँ आप्रवासी श्रमिकको ज्यान गएको र धेरैले तोकिएबमोजिमको पारिश्रमिक नपाएको तथा काम गर्ने क्रममा न्यूनतम सुविधा नदिएको आरोप लगाइँदै आएको छ। 

कतारमा दुईवटा रङ्गशाला मर्मत सुधार र छवटा नयाँ निर्माणका लागि दैनिक ३० हजार आप्रवासी श्रमिकले काम गरेको र उनीहरूमध्ये अधिकांशले तोकेको पारिश्रमिक त पाएनन् नै निर्माणका क्रममा न्यूनतम मानवीय सुविधाबाट वञ्चित भएको प्रतिवेदन रिपोर्ट सार्वजनिक गरिएको छ। कतारमा रङ्गशाला निर्माणमा खटिएका आप्रवासी श्रमिकको भोगाइमा केन्द्रित भएर एक्युरियम (अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी संस्था)ले बिहीबार राति सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो। 

उक्त संस्थाले यस विषयमा कतारमा बसेर १८ महिना लागेर अध्ययन गरेको जनाएको छ। एक्युरियमले एक हजारभन्दा बढी आप्रवासी श्रमिकसँग कुराकानी गरेर उक्त प्रतिवेदन तयार गरेको जनाएको छ। यसअघि अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ), ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरनेसनल, फेयर स्क्वायरलगायतका संस्थाले कतारले थुप्रै आप्रवासी श्रमिकलाई उपलब्ध गराउनुपर्ने क्षतिपूर्ति उपलब्ध नगराएको, कानुनी न्याय उपलब्ध गराउन नसकेको भन्दै आलोचना गरेका छन्। 

ती संस्थाले रङ्गशाला निर्माणमा खटिएका श्रमिकको मानसिक र शारीरिक शोषण भएको प्रतिवेदन सार्वजनिक गरेका थिए। ती प्रतिवेदनका अनुसार कतारमा कार्यरत श्रमिक अत्यधिक गर्मी, कामको चर्को बोझ र अव्यवस्थित बसोबास तथा खानपानका कारण अशक्त, घाइते भएर फर्किएका छन्।

नेपालीको सङ्ख्या धेरै 

विश्वकपका लागि पूर्वाधार निर्माण गर्दा कत्तारमा नेपाली, भारतीय, बङ्गलादेशीलगायत धेरै मुलुकका श्रमिक प्रयोग भएको बताइएको छ। तीमध्ये नेपाली धेरै रहेको प्रतिवेदनले औँल्याएका छन्। ओखलढुङ्गाका अनिश अधिकारी यस्तैमध्येका एक हुनुहुन्छ। जाँदा लागेको खर्चसमेत फिर्ता आउने र मासिक नौ सय रियाल कमाइ हुने भन्दै कतार जानुुभएका अधिकारीको हातमा मुस्किलले मासिक छ सय रियाल प-यो, त्यो पनि धेरै सङ्घर्षपछि मात्रै। उहाँ २०१९ देखि २०२१ सम्म ३३ महिना कतारको लुसेल रङ्गशाला निर्माणमा संलग्न हुनुभयो। यही रङ्गशालामा विश्वकपको अन्तिम खेल हुँदै छ। 

कतारको उच्च तापकक्रम ४५–५० डिग्री सेल्सियसभन्दा चर्को गर्मीमा ३३ महिना काम गरेर बिरामी भएर नेपाल फर्किनुभएका अधिकारीले सुनाउनुभयो, “तिर्खा लागेर पानी माग्दा पानीभन्दा बढी बरफ हालेर दिन्थ्यो।” 

साँघुरा कोठामा ठूलो सङ्ख्यामा श्रमिक राख्ने गरिएको, पानी र खानाको अभावबीच बाँचिरहेका आप्रवासी श्रमिकको कारुणिक कथा उल्लेख गरिएको एक्युरियमको सो अध्ययनमा सहभागी रामेश्वर नेपालले भन्नुभयो, “कतारले आप्रवासी श्रमिकमाथि गरेको अत्याचार वर्णन गरी साध्यै नै छैन।” कतार विश्वकपको यो रौनकका पछाडि सबैभन्दा धेरै काम गर्ने र थोरै पारिश्रमिक पाउनेमा नेपालीको सङ्ख्या सबैभन्दा धेरै रहेको उहाँले बताउनुभयो। श्रमिकमाथि शोषण गर्ने कतारको ‘कपाला’ (एक कम्पनीबाट अर्काे कम्पनीमा जान नपाउने) नियमका कारण हजारौँ आप्रवासी श्रमिक समस्यामा परेको थिए।

पन्छिँदै कतार

आप्रवासी श्रमिकको शोषणलाई लिएर अन्तर्राष्ट्रिय संस्थाले कतार सरकारको विरोध गरिरहेका छन् तर अधिकांश मृत्युलाई कतारले अज्ञात र हृदयाघातका कारण भएको भन्दै पन्छिँदै आएको छ। मानव अधिकार र श्रमिकका पक्षमा काम गर्ने संस्थाले भने कतारको चर्को घाममा लामो समय कडा परिश्रम गर्न लगाउँदा श्रमिकको मृत्यु हुने गरेको देखाएका छन्। कतारले दुई खर्ब २९ अर्ब अमेरिकी डलर खर्च गरेर यो महोत्सव आयोजना गरिरहेको हो। कतारले सन् २०१० मा जापान, अमेरिका, दक्षिण कोरिया र अस्ट्रेलियालाई पछि पार्दै विश्वकप आयोजना गर्ने प्रतिस्पर्धा जितेको थियो।  

कतारले यसबीचमा गरेका सुधारका बाबजुद श्रम गरेको अर्बौं रकम आप्रवासी श्रमिकले प्राप्त गर्न बाँकी रहेको र सो रकम उपलब्ध गराउने गरी क्षतिपूर्ति कोष खडा गर्न विभिन्न अधिकारवादी संस्थाले गरेको आग्रहलाई कतार सरकारले अस्वीकार गरेको छ। यस विषयमा फिफा मौन छ। 

खेलाडीकै विरोध

फुटबलको महाकुम्भ सुरु हुनै लाग्दासमेत कतारले आप्रवासी श्रमिकको अधिकारका लागि गर्नुपर्ने सुधारका कतिपय महत्वपूर्ण काम बाँकी नै रहेको भन्दै अधिकारवादी संस्थाले भने आलोचना गर्दै आएका छन्। यसमा अधिकारवादी सङ्घसंस्था मात्रै नभएर फुटबल टिम र खेलाडी पनि छन्। सो आलोचनामा बेलायती, फ्रान्सेली, अस्ट्रेलियालीलगायतका फुटबल टिमले आवाज उठाएका छन्। 

कतारमा हुने विश्वकप प्रतियोगितामा भाग लिने अधिकांश टिम विश्वकपका लागि चाहिने पूर्वाधार बनाउने क्रममा शोषणमा परेका हजारौँ आप्रवासी श्रमिकका पक्षमा सन्देश दिने जर्सी, फिता (ब्यान्ड) लगाउँदै मैदानमा उत्रिने भएका छन्। अस्ट्रेलियन फुटबल टिमले हालसालै मात्र ट्विटरमा एक भिडियो सार्वजनिक गरेर विश्वकपमा लागि आवश्यक पूर्वाधार बनाउँदा मारिएका र घाइते भएका आप्रवासी श्रमिकलाई क्षतिपूर्ति दिलाउन माग गरेको छ।