महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तिब्रगतिका कारणले हुने सडक दुर्घटना न्यूनिकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ्ग शुरु गरेको छ । बिशेषगरि कोटेश्वर-सुर्यबिनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तिब्र गतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तिब्रगति नियन्त्रणको अभियान शुरु गर्दै आएको छ । दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तिब्र गतिमा सवारी चलाउने ३५/४० जना चालकहरुलाई लेजर गन मार्फत कारबाही गर्दै आएका छौ, अब भने रातको समयमा समेत ओभरस्पिड चेकिङ्ग गरि गति नियन्त्रण गर्ने अभियान पहिलो पटक शुरु गरेका छौ । तिब्रगतिमा सवारी चलाउने चालकहरुलाई कारबाहीको साथै सचेत गराएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।

उहाँले आज रातीदेखी नाइट भिजन लेजर स्पीड गनको प्रयोग शुरु गरेको र यसले तिब्रगति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्युनिकरणमा उल्लेख्य भूमिका निर्बाह गर्ने बिश्वास व्यक्त गर्नुभयो । स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पीडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएको र नाईट स्पीड चेकिङ्गलाई कडाईका साथ लगिने समेत महाशाखाले जानकारी दिएको छ । तिब्रगतिमा सवारी साधन चलाउँदा आफुलाई मात्र नभइ अन्य सडक प्रयोगकर्तालाई समेत जोखिम हुने र दुर्घटनाको सम्भावना अत्याधिक हुने भएकोले तिब्रगति र लापरबाहीका साथ सवारी नचलाउन सम्पुर्ण सवारी चालकहरुलाई ट्राफिक प्रहरी महाशाखाले बिशेष अनुरोध समेत गरेको छ ।