काठमाडौँ, २९ वैशाख २०८३
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते प्रशिक्षक कुशल श्रेष्ठले सञ्चारमाध्यममार्फत लगाएको आरोपको औपचारिक रूपमा खण्डन गरेको छ। प्रशिक्षक श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन जाँदा राखेपले सहयोग नगरेको भनी दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राखेपले मंगलबार एक विज्ञप्ति जारी गरी सो स्पष्टीकरण दिएको हो।
राखेप प्रशासन विभागका प्रमुख भोजानन्द राईद्वारा जारी विज्ञप्तिमा श्रेष्ठका आरोपहरू निराधार रहेको दाबी गरिएको छ। राखेपले प्रशिक्षक श्रेष्ठ र चर्चित कराते खेलाडी एरिका गुरुङको वैदेशिक भ्रमण, प्रशिक्षण र प्रतियोगिताका लागि हालसम्म गरिएको लगानीको विवरणसमेत सार्वजनिक गरेको छ।
लगानीको विवरण: २ वर्षमा ४८ लाखभन्दा बढी खर्च
राखेपका अनुसार 'मिसन २०२६' अन्तर्गत खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि परिषद्ले निरन्तर लगानी गरिरहेको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार:
-
चालु आर्थिक वर्षमा: खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठको हवाई टिकट, खाना, बसोबास र फुटकर खर्चवापत रु. २६,८६,५४३भुक्तानी भइसकेको छ।
-
गत आर्थिक वर्षदेखि हालसम्म: दुवैका लागि कुल रु. ४८,६९,०५२ (अठ्चालीस लाख उनान्सत्तरी हजार बाउन्न रुपैयाँ) खर्च गरिएको विवरण राखेपले सार्वजनिक गरेको छ।
"खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि यथासक्य आर्थिक सहयोग गर्नु परिषद्को दायित्व र जिम्मेवारी हो। तर, पर्याप्त सहयोग भइरहँदा पनि परिषद्कै सहायक प्रशिक्षक रहेका श्रेष्ठले लगाएको आरोपप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।" - विज्ञप्तिमा उल्लेखित अंश
चीन भ्रमण र बजेट अभावको प्रसङ्ग
चीनको लेसानमा भएको 'कराते वान प्रिमियर लिग' मा एरिका गुरुङले रजत पदक जितेर राष्ट्रको नाम उँचो बनाएकोमा राखेपले खुसी व्यक्त गरेको छ। तर, सोही प्रतियोगितामा जाने क्रममा बजेट अभावका कारण तत्कालै आर्थिक सहयोग गर्न नसकिएको कुरालाई परिषद्ले स्विकारेको छ। उक्त समयमा अन्य संघ-संस्थाहरूले पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्दै परिषद्ले पछिल्लो दुई महिनादेखि बजेट अभावका कारण केही प्रशिक्षण कार्यक्रमहरू प्रभावित भएको समेत स्पष्ट पारेको छ।
राखेपले खेलाडी गुरुङको प्रशिक्षण र अन्तर्राष्ट्रिय 'एक्सपोजर' का लागि परिषद्ले पर्याप्त ध्यान दिएको भन्दै प्रशिक्षकलाई संस्थाको गरिमामा आँच आउने गरी गलत सन्देश प्रवाह नगर्न समेत सचेत गराएको छ।


प्रतिकृयाहरु