अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार अधिकारीले पदको दुरुपयोग गर्दै प्राधिकरणका विभिन्न ठेक्कामा सहजीकरण गरेबापत एक करोड ७१ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि आज मुद्दा दायर गरिएको हो ।

आयोगको अनुसन्धानबाट अधिकारीले ठेक्कामा सहभागी कम्पनी तथा तिनका शेयरधनीसँग मिलेमतो गरी प्राप्त घुसको रकमबाट श्रीमतीको नाममा ललितपुरमा जग्गा खरिद गरेको र वास्तविक कारोबार रकम लुकाई सरकारी कागजातमा कम मूल्य देखाएर गैरकानुनी सम्पत्तिको स्रोत छिपाउने प्रयास गरेको खुलेको जनाएको छ । उक्त रकमलाई वैधानिक देखाउन बैंक खातामार्फत विभिन्न कारोबार गरिएको र त्यसमार्फत सम्पत्ति शुद्धीकरणसमेत गरिएको आयोगको दाबी छ ।

घुस प्रकरणमा अधिकारीसँगै गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकाललाई पनि घुस दिएको अभियोगमा प्रतिवादी बनाइएको छ । आयोगले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत कारबाहीको माग गरेको छ ।

आयोगले प्रतिवादीहरूबाट एक करोड ७१ लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिबाना, कैद सजाय तथा घुसबाट खरिद गरिएको ललितपुरस्थित जग्गा जफत गर्नपनि अदालतसमक्ष मागदाबी गरेको छ । साथै, अधिकारी राष्ट्रसेवक कर्मचारी भएकाले कानुनबमोजिम थप सजाय हुनुपर्ने मागसमेत गरिएको आयोगले जनाएको छ ।