काठमाडौँ जिल्लाको उत्तरी भेगमा अवस्थित बाल विकास बोर्डिङ हाइ स्कुलले तिहार विशेष कार्यक्रम एकदम भव्यताको साथ सम्पन्न गरेको छ । कार्यक्रममा सदनअनुरुप रङ्गोली बनाउने प्रतिस्पर्धा आयोजना गरिएको थियो । सिर्जनात्मक क्षमतामा अब्बल विद्यार्थीहरुद्वारा सिर्जित रङ्गोली अत्यन्तै आकर्षक थिए । कक्षा १० का विद्यार्थीहरूद्वारा तयार पारिएको विद्यालयको लोगो अङ्कित रङ्गोली अत्यन्तै चित्ताकर्षक थियो । 

तिहार कार्यक्रमकै सिलसिलामा चङ्गा उडाउने प्रतियोगिता पनि सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरूले  अत्यन्तै उत्साहबर्द्धक रूपमा सहभागिता जनाउनुभएको थियो  । सबै प्रकारका कार्यक्रममा विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा देउसीभैलो कार्यक्रमको साथै तिहार ,नेपाल संवत् तथा छठको  शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

विजेताहरूलाई पुरस्कार वितरण गर्नुका साथै बधाई तथा शुभकामना अर्पण गर्दै विद्यालयका संस्थापक अध्यक्ष शंकरदास श्रेष्ठले

यस्ता किसिमका कार्यक्रमले विद्यार्थीका प्रतिभा प्रस्फुटनमा ऊर्जा मिल्ने अभिव्यक्ति दिनु भएको थियो। यसै सिलसिलामा   गत October 1st देखि October 4 सम्म  बंगलादेशमा आयोजित   First South Asian School Combat WUSU  Championship मा ६५  के . जीतर्फ द्वितीय स्थान हासिल गर्ने कक्षा १० मा अध्ययनरत छात्र  सौगात चन्द  र  ४८ के . जी सम्मको वर्गमा द्वितीय स्थान नै  हासिल गर्न सफल  छात्रा  अनिता लामालाई विद्यालय र देशकै प्रतिष्ठालाई उच्च बनाउन  र ऐतिहासिक रेकर्ड बनाउन सफल भएकोमा उहाँहरूप्रति गौरवान्वित हुँदै प्रोत्साहनस्वरुप विद्यालयद्वारा  रु. ५,००० को चेक हस्तान्तरण  गरिएको थियो  । अन्तर्राष्ट्रिय स्तरका  रेफ्री तथा यसै स्कुलका अतितिक्त कार्यक्रम संयोजक सुकमान लामाले पनि विजयी विद्यार्थीहरूलाई बधाई  दिँदै  धन्यवाद ज्ञापन गर्नुभएको थियो । आफ्नो स्थापनाकालको तीसौँ वर्षमा प्रवेश गरिसकेको यस विद्यालयले आयोजना गरेको तिहार विशेष कार्यक्रमले विद्यार्थीहरूमा हौसला प्रदान गर्नुको साथै भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।