बुढानीलकण्ठ नगरपालिका डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत नागरिकलाई घरदैलोमै सेवा पुर्‍याउने लक्ष्यसहित ‘डिजिटल रूपान्तरण’ अभियानमा अग्रसर बनेको छ । प्रशासनिक सेवा, शिक्षा, स्वास्थ्य, कर, सामाजिक सुरक्षा र रोजगारी व्यवस्थापनजस्ता क्षेत्रलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नगरपालिका स्मार्ट र नागरिकमैत्री कार्यको उदाहरण बन्दै गएको छ ।स्थानीय सरकारले नागरिकलाई हातहातमै सेवा दिने अवधारणा झट्ट सुन्दा काल्पनिक लाग्न सक्छ । तर काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले डिजिटल प्रविधिको व्यापक प्रयोगमार्फत यसलाई व्यवहारमै उतारेको छ । नगरपालिकाले अघि सारेको ‘डिजिटल रूपान्तरण’ अभियानले प्रशासनिक कामकाजदेखि नागरिकको दैनिकीसम्म उल्लेख्य परिवर्तन ल्याएको छ। सेवा लिन सरकारी कार्यालय धाउनुपर्ने, कागजी फाइल खोज्दै समय र श्रम खर्चिनुपर्ने पुरानो परिपाटी अब क्रमशः विस्थापित हुँदै गएको छ । बुढानीलकण्ठ नगरपालिकामा नागरिकले कर भुक्तानी, सिफारिस, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा तथा अन्य प्रशासनिक सेवा अनलाइन र डिजिटल प्रणालीमार्फत सहजै पाउन थालेका छन् । यसले नागरिकको समय, खर्च र झन्झट घटाएको छ भने सेवाप्रतिको विश्वास बढाएको छ ।नगरपालिकाले डिजिटल पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै १३ वटै वडा कार्यालय, ११ वटा स्वास्थ्य संस्था र १९ वटा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ । सबै कार्यालयमा ई–हाजिरी प्रणाली लागू गरिएको छ, जसले कर्मचारीको पारदर्शिता, उत्तरदायित्व र अनुशासन मजबुत बनाएको छ । दर्ता–चलानी, अभिलेख व्यवस्थापन र नक्सा पासजस्ता सेवा पनि अनलाइन प्रणालीमा रूपान्तरण भएका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाका अनुसार डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाह मात्र छिटो बनाएको छैन, नागरिक र स्थानीय सरकारबीचको भरोसा पनि बलियो बनाएको छ । सूचना तथा प्रविधि शाखाका अधिकृत शान्त पौडेलले कर्मचारी हाजिरी, बिदा व्यवस्थापन, दर्ता–चलानी, क्युआर कोडसहितका स्मार्ट परिचयपत्र, मोबाइल एप, बल्क एसएमएस तथा विभिन्न सेवा पोर्टलमार्फत नगरपालिकाको कामकाज पूर्णतः डिजिटलतर्फ उन्मुख भएको जानकारी दिए ।राष्ट्रिय जनगणना २०७८ अनुसार बुढानीलकण्ठ नगरपालिकाका करिब ८० प्रतिशत घरधुरी इन्टरनेट सेवामा जोडिएका छन् भने ९४ प्रतिशतभन्दा बढी घरधुरीमा स्मार्टफोनको पहुँच पुगेको छ । यसले शिक्षा, सूचना, व्यवसाय र रोजगारीका नयाँ अवसर सिर्जना गरेको छ । इन्टरनेट विस्तारसँगै यहाँका युवाहरू अनलाइन व्यवसाय, डिजिटल मार्केटिङ र कन्टेन्ट सिर्जनाजस्ता क्षेत्रमा सक्रिय बन्दै गएका छन् ।घरको नक्सा पास प्रक्रिया पूर्ण रूपमा अनलाइन भएपछि नगरवासीले वडा कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । कागजात अपलोडदेखि शुल्क भुक्तानी र कामको प्रगति अनुगमनसम्म सबै प्रक्रिया डिजिटल भएकाले पारदर्शिता र कार्यक्षमता बढेको स्थानीयहरू बताउँछन् । अन्य धेरै सेवा पनि क्रमशः अनलाइनमा आधारित हुँदै गएपछि नगरपालिका ’स्मार्ट प्रशासन’को मोडेलतर्फ अघि बढिरहेको देखिन्छ ।ई–हाजिरी, हेलो सरकार प्रणाली, सामाजिक सुरक्षा तथा घटना दर्ता, करदाता पोर्टल, श्रम बजार व्यवस्थापन, भ्याक्सिन प्रमाणपत्र, किसान सूचीकरण र रोजगार कार्यक्रमजस्ता दर्जनौँ डिजिटल प्रणालीले सेवा प्रवाहलाई एकीकृत बनाएका छन् । यसले कर्मचारीलाई काम गर्न सहज बनाउनुका साथै नागरिकलाई छिटो र सरल सेवा उपलब्ध गराएको छ ।यद्यपि डिजिटल रूपान्तरणको यात्रामा चुनौती पनि छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, प्रविधिमा पहुँच नपुगेका र डिजिटल सिप कमजोर भएका वर्ग अझै पनि सेवाबाट पूर्ण लाभ लिन सकेका छैनन् । साथै डेटा सुरक्षा, साइबर जोखिम र प्रणालीको स्थायित्व सुनिश्चित गर्नु नगरपालिका लागि महत्वपूर्ण चुनौती बनेको छ ।यी चुनौतीका बाबजुद बुढानीलकण्ठ नगरपालिकाले डिजिटल सुशासन, पारदर्शिता र समावेशी सेवाप्रवाहप्रति प्रतिबद्धता व्यक्त गरेको छ । प्रविधिको प्रभावकारी प्रयोगमार्फत स्थानीय सरकार जिम्मेवार र नागरिकमैत्री बन्न सक्छ भन्ने उदाहरणका रूपमा बुढानीलकण्ठ नगरपालिका स्थापित हुँदै गएको छ ।