प्रहरीले स्रोत नखुलेको २१ लाख ४० हजार रुपियाँसहित दुई जनालाई हेटौँडाबाट पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१, चौकीटोल ओरालोस्थित हेटौँडा–भीमफेदी सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त रकमसहित उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार सोमबार साँझ करिब ७ः३५ बजे वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ च ०२०९ नम्बरको इसुजु डी–म्याक्स गाडी जाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुरबाट खटिएको मोबाइल टोलीले रकम फेला पारेको हो ।

सशस्त्र प्रहरीले गाडीबाट पाँच सय रुपियाँ र र एक हजार रुपियाँका गरी कुल २१ लाख ४० हजार रुपियाँ बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का करिब ४० वर्षीय सिंहराम रुम्बा र धादिङको नीलकण्ठ नगरपालिका–८ का ३२ वर्षीय विजय खाती रहेका छन् । उनीहरूको साथबाट इसुजु डी–म्याक्स गाडी, एप्पलको आइफोन, सामसुङ स्मार्टफोन र एउटा सादा मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद रकम र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको थियो । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अन्तर्गतको कसुरमा मकवानपुर जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।