समयको कुनै कालखण्डमा

मिल्काएको तिम्रो अस्तित्व

म सम्झनामा कहिले काहीं बिउँताउने गर्छु

यथार्थमा,

तिमीसम्म पुग्ने आँट र उद्देश्य शून्य छ।

तिम्रो धुन्धुलो तस्वीरमा

जलाएका तीतामिठा पलहरुले

कालो पोतीदिएकी छु..

जुन कालो सायद,

यो चकमन्न रात भन्दा पनि भयानक छ, बीभत्स छ।

अन्धाधुन्ध पोतिएका तिनै समयका खाटाहरु बेलाबखतमा उप्कंछन् अनि ऐठन पार्ने गर्छन्।

आजभोलि कोल्टे फेर्दा एउटै जिज्ञासाले जकडी रहन्छ: हृदयभित्रको नर्कमा,

कालान्तरसम्म धकेलेको

तिमीलाई

मैले

त्यहीं हृदयबाट याद गरिरहँदा

के म तिम्रो सपनीमा, कहिल्यै आउने गर्छु ?

©अनामिका गौतम