काठमाडौँ, जेठ १ गते । स्थानीय तह निर्वाचनमा मतदान रद्द भएको मतदान केन्द्रको सङ्ख्या शनिबार साँझसम्ममा ७९ पुगेको छ । निर्वाचन आयोगले ती केन्द्रमा मतदान रद्द भएको जानकारी दिएको हो ।  

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले इलाम, तनहुँलगायतका जिल्लाका केही पालिकाको मतदान केन्द्रबाट उजुरी आएकाले मतदान रद्द हुन सक्ने बताउनुभएको छ । सो भएमा मतदान केन्द्र रद्द भएका केन्द्रको सङ्ख्या अझ बढ्ने छ । शुक्रबार अबेर रातिसम्म आयोगले १७ जिल्लाको २८ स्थानीय तहअन्तर्गत ४४ मतदान स्थलका ८५ मतदान केन्द्रमा मतदान हुने जनाएको छ । शनिबार बिहानसमेत मतदानको क्रममा विवाद भएको र केन्द्र कब्जा गरेर मतदान गरिएको गुनासो आएका छन् । यसबाट यो सङ्ख्या बढ्दै जाने देखिएको छ ।

तथ्याङ्कगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको ३२ मतदान केन्द्रको मतदान रद्द गरिएको छ । सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकाको २० मतदान केन्द्रको मतदान रद्द गरिएको छ । मधेस प्रदेशको २९ मतदान केन्द्रको मतदान रद्द गर्नुपरेको छ । जसमध्ये रौतहट जिल्लाको चार पालिकाका मात्रै २० मतदान केन्द्र छन् । 

अधिकांश मतदान केन्द्रमा सामान्य विवाद बढ्दै जाँदा मतदान नै स्थगित गर्नुपरेको छ । आयोगले यस्तो अवस्था आउनु दुःखद रहेको टिप्पणी गरेको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, “मतदान अधिकृत र सुरक्षाकर्मीले मतदाता र दललाई आश्वस्त पार्न नसक्दा सामान्य विवादमा समेत मतदान स्थगित गर्नुलाई चिन्ताजनक अवस्थाका रूपमा लिएका छौँ ।” 

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको कुम्हरौडा मावि मतदान केन्द्रमा भने असम्बन्धित व्यक्तिले मतदान गर्न लागेकाले विवाद उत्पन्न हुँदा रोकिएको मतदान स्थानीयले आफैँले पहल गरेर सुचारु गराएका थिए । बागमती प्रदेशको काभ्रेको पाँचखाल नगरपालिकाको श्रीराम माविमा भने राजनीतिक दलबीच मतदानस्थल बाहिर विवाद हुँदा मुठभेडको अवस्था निम्तिएको थियो । जसले गर्दा पछि मतदान केन्द्र तहसनहस र अव्यस्थित हुन पुग्यो । 

रौतहटको यमुनामाई नगरपालिकामा अज्ञात व्यक्तिको समूह मतपेटिका लुटेर लगेको मतदान रद्द गर्नुपर्ने कारणमा खुलाइएको छ । त्यस्ता केन्द्रको सङ्ख्या चार छन् । तीनवटा मतदान केन्द्रका मतपेटिकामा पानी नै खन्याइएको बताइएको छ । 

केही मतदान केन्द्रमा भने सुरक्षाकर्मीको उपस्थिति नै नरहेकाले मतदान रद्द गर्नुपरेको दाबी गरिएको छ । आयोगका अनुसार बूढीगङ्गा नगरपालिकाको धुरालसेन, ब्रह्मतोला तथा थुमा माविस्थित आठ मतदान केन्द्रमा सुरक्षाकर्मी नभएको र एकपक्षीय मतदान भइरहेको जानकारी प्राप्त भएकाले मतदान रद्द गर्ने कारण खुलाइएको छ । प्रमुख आयुक्त थपलियाले एकै चरणमा मतदान गर्दा सुरक्षा चुनौती थपिएको र राजनीतिक दलले लोकतान्त्रिक संस्कार देखाउन नसकेको 

टिप्पणी गर्नुभयो । उहाँले मतदान अधिकृत, सुरक्षाकर्मी र राजनीतिक दलले सुझबुुझ देखाएको भए र एकअर्कालाई आश्वस्त गर्न सकेको भए मतदान रद्द गर्नुपर्ने अवस्था यति धेरै सङ्ख्यामा नहुने बताउनुभयो । 

आइतबार मतदान निर्वाचन आयोगले मतदान रद्द हुन पुुगेको कालिकोटको दुई, सप्तरीको एक र जुम्लाको एक स्थानीय तहमा आइतबार पुनः मतदान हुने जनाएको छ । आयोगका अनुसार सर्वपक्षीय सहमतिबमोजिम निर्वाचन अधिकृतको कार्यालयले यी तीनै स्थानमा पुनः मतदान गर्न लागेको हो ।