बारामा हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई रकमसहित पक्राउ गरेको छ । स्रोत नखुलेको १३ लाख ५० हजार नेपाली रुपैयाँसहित पक्राउ परेका दुई जनालाई प्रहरीले पत्रकार   सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नम्बर-१ बनकटवा बस्ने बर्ष ३४ को हरिकिशोर पटेल र बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्बर-१ का ४२ बर्षको रमेश प्रसाद कुसवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनु भएको छ ।

विशेष सुचनाको आधारमा भारतबाट हुण्डी रकम लिएर आईरहेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटी गएको प्रहरी टोलीले विश्रामपुर गाँउपालिका वडा नम्बर ४ मुसहर्वास्थित सडकबाट सो पैसा ओसारपोसार गरी रहेका पटेललाई शुरुमा पक्राउ गरिएको हो ।

पटेल सवार २-०३-०१६ प २३३७ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पटेलको बयानबाट आरके मनी चेन्जर बरियारपुरका संचालक रमेश कुसवाहालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो । बरामद भएको पैसा कुसवाहाको भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले पछिल्लो दुई दिनमा करिब ८ करोडको डुन्डी कारोवार गरेको बयानबाट खुलेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनु भएको छ ।

घटनामा संलग्न अरुको पनि खोजतलास भईरहेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका ती दुई जनालाई जिल्ला अदालत बाराबाट म्याद थमाई थप अनुसन्धान भईरहेको छ ।

लामो समयदेखि बिदेशमा काम गरेकाहरुले भारतमा हुण्डीबाट पैसा पठाउने र भारतबाट नेपालमा ल्याएर दिने गिरोह सकृय भएको पाएपछि प्रहरीले यसअघि समेत हुण्डीमा संलग्नहरुलाई पक्राउ गरेको थियो ।