इङ्ग्ल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत सोमबार साँझ भएको खेलमा इङ्ग्ल्यान्डले एसियाली देश इरानमाथि ६-२ गोलको सानदार जित निकाल्यो । 

खालिफा रंगशालामा इङ्ग्ल्यान्डलाई जिताउन बुकायो साकाले दुई गोल गर्नुभयो । जुड वेलिङघम, रहिम स्टर्लिङ, मार्कुस रासफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गर्नुभयो । इरानका लागि दुवै गोल मेहदी तारेमीले फर्काउनुभएको थियो । 

एकपक्षीय खेलको पहिलो हाफमा इङ्ग्ल्यान्डले पहिलो हाफमै तीन गोल गरेको थियो । खेलभर बल पोसेसनमा अब्बल देखिएको इङ्ग्ल्यान्डका लागि बेलिङघमले ३५औं मिनेटमा खाता खोल्नुभयो ।

 

उहाँले लुक साको पासमा डिबक्सबाहिरबाट उत्कृष्ट हेड गोल गर्नुभएको थियो । बुकायोले ४३औं मिनेटमा मगाएरले कर्नर पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । 

पहिलो हाफको इन्जुरी समयमा रहिमले ह्यारी केनको पासमा ‘वान टच’ गोल गर्दै टोलीलाई थप बलियो बनाउनुभयो । इरानले २०औं मिनेटमै गोलरक्षक परिवर्तन गरेको थियो । 

इरानका गोलरक्षक अली बेइरन्भान्द आफ्नै रक्षकसँग ठोकिएर अनुहारमा चोट लागेपछि बाहिरिनुभयो । उहाँको स्थानमा होसेन होसेनीले पोस्ट सम्हाल्नु भएको थियो । 

इरानले पहिलो हाफको इन्जुरी समयमा पाएको एउटा मौका गुमाएको थियो । इन्जुरी समयमा अलिरेजा जाहानबक्सको पोस्ट नजिकको प्रहार बाहिर हुईकिएको थियो । 

दोस्रो हाफमा पनि एउटै लय समाएको इङ्ग्ल्यान्डले तीन गोल थपेको थियो । साकाले ६२औं मिनेटमा स्टर्लिङको पासमा व्यक्तिगत दोस्रो गोल गर्नुभयो ।

 

रासफोर्डले ७१औं र ज्याक ग्रेलिसले ९०औं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई सजिलै जिताउनुभयो । इरानका मेहदी तारेमीले ६५औं र दोस्र हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत दुई गोल फर्काउनुभयो । 

पहिलो जितसँगै समूहमा इङ्ग्ल्यान्डले तीन अंक बनाएको छ । यसै समूहको अर्को खेलमा आज राति १२:४५ बजे अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुँदैछ । एजेन्सी