दमकमा नक्कली नोट र लागूऔषध कारोबार गर्दै आएका दाजुभाईलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विर्तामोड–४ मेघाबारीबाट एकै परिवारका दुईलाई नक्कली नेपाली  र विदेशी नोटसहित पक्राउ गरेको छ । 

प्रहरीलाई प्राप्त सूचनाका आधारमा बुधबार साँझ खानतलासी गर्दा नेपाली एक हजार दरका काटिएका ६० थान, नकाटिएका २८ थान, पाँच सय दरका दुई थान र अष्ट्रेलियन एक सय दरका तीन थान नक्कली नोटसहित स्थानीय सुवास ताजपुरिया र १९ वर्षीय  प्रविण ताजपुरियालाई प्रहरीले पक्राउ गरेको हो ।
दाजुभाई मिलेर आफ्नै घरैबाट नक्कली नोटको कारोबार गर्दै आएको र उनिहरुलाई घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार प्रतिबन्धित लागूऔषध, सक्कली नेपाली तीन हजार रुपियाँ, मोवाइल चार थान र एकथान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।