अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले ३० हजार नगद घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई नियन्त्रणमा लिएको छ । 

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार, वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैङ्क खाता सुचारु गर्न सेवाग्राहीसँग ३० हजार रुपियाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अनुसन्धान गर्ने क्रममा सो रकमसहित नियन्त्रणमा लिइएको हो । 

नायब सुब्बा प्रमोद पाण्डेलाई सेवाग्राहीबाट ३० हजार रुपियाँ लिइसकेको अवस्थामा र खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ रुपियाँ सहित पाण्डेकै कार्यकक्षबाट आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।