एनआइसीका ग्राहक आत्तिनुपर्दैन राष्ट्र बैंक

[[IMG_ALT]]

b s g news | National News | Falgun 29

बैंकर्स संघले एनआइसी एसिया बैंकलाई घेराबन्दीमा पारेपछि एनआइसीका सर्वसाधारण सेवाग्राही अन्योलमा परेका छन् । एनआइसी एसियामा खाता भएका ग्राहकहरु अझ बढी त्रसित देखिएका छन् । गलत हल्लाका कारण कतिपयले निक्षेप झिक्नसमेत थालेको बुझिएको छ । तर बैंकर्स संघको नाकाबन्दीबाट एनआइसी एसियाका ग्राहकलाई भने कुनै पनि समस्या नहुने बैंकले जनाएको छ । एनआइसी एसियाले जारी गरेका चेकहरु अन्य बैंकले साट्नुपर्छ । एकाउन्ट पेयी चेक क्लियरिङ गर्न पनि कुनै समस्या हुनेछैन् ।

२७ बैंकको नाकाबन्दीमा केबल अन्तर बैंकिङ कारोबार रोकिने हो । अन्तर बैंक कारोबार ग्राहकसँग प्रत्यक्ष सम्बन्धित् हुँदैन । एक बैंकले अर्को बैंकबीच आन्तरिक रुपमा हुने कारोबारमात्र हो, अन्तर बैंक कारोबार । यसबाट ग्राहकलाई कुनै पनि समस्या नहुने र ग्राहकहरु आत्तिनुपर्ने अवस्था नरहेको एनआइसी एसियाले जनाएको छ ।

सहमति विपरीत एकतर्फी रुपमा ब्याजदर बढाएको भन्दै बैंकर्स संघले एनआइसी एसिया बैंकसँग अन्तर बैंकिङ कारोबारमा रोक लगाएको हो । बैंकर्स संघले तोकेको बचतमा ८% र मुद्दति निक्षेपमा ११% भन्दा बढी ब्याज दिन नपाउने निर्णयको विरुद्धमा एनआइसी एसिया बैंकले बचतमा १०% र मुद्दति निक्षेपमा १२% ब्याज दिन थालेपछि बैंकर्स सघंले अन्तर बैंकिङ कारोबारमा रोक लगाएको छ ।

अन्तर बैंकिङ कारोबारमा रोक लगाए पनि बैंकका ग्राहक तथा बैंकमा सेवा लिने सेवाग्राहीलाई कुनै समस्या नपर्ने बैंकका प्रवक्ता सुधीरनाथ पाण्डेले नेपाली पैसालाई जानकारी गराए । उनले भने ‘अन्तर बैंकिङ कारोबार रोकिँदा सर्वसाधारण सेवाग्राहीले पाउने सेवा कहीँ पनि रोकिँदैन, यस अघि पाउँदै आएको सबै सेवा सहज रुपमा उपलब्ध छन् ।’

अन्तर बैंकिङ कारोबार रोक्का भएसँगै सर्वसाधारणले एकाउन्ट पेयी चेक साँट्न नपाउने हो कि भन्ने त्रास र हल्ला पनि बजारमा फैलिएको छ । तर बैंकका प्रवक्ता पाण्डेले सर्वसाधारण सेवाग्राहीमा केही पनि असर नगर्ने बताए । उनले भने, ‘यो विषयले अहिले सेवाग्राहीको सेन्टिमेन्टमा समस्या आएको हुनसक्छ तर बैंकिङ कारोबारमा कँही केही समस्या छैन, पुरानै शैलीमा ग्राहकले सबै कारोबार गर्न पाउनुहुनेछ ।’
उनका अनुसार अहिले अन्तर बैंक कारोबार मात्र रोक्का भएको छ । बैंक–बैंकबीचको कारोबार रोक्का हुँदा सर्वसाधारणमा कुनै समस्या नहुने पाण्डेको भनाई छ । चेक सटहीमा समस्या हुँदैन । एकाउन्ट पेइ चेक क्लियरेन्समा पनि कुनै समस्या नभएको उनले नेपाली पैसालाई बताए । उनले भने, ‘हामी अहिले पनि सेवाग्राहीलाई कसरी सहजै हाम्रा सेवा सुविधा दिने भन्नेमा नै चिन्तित छौं ।’

तर कतिपय बैंकका कर्मचारीले कुरा नबुझ्दा एकाउन्ट पेयी चेक नसाँटिएको पाइएको छ । कतिपय शाखामा एनआइसी एसियाका कर्मचारी अन्य बैंकको चेक साँट्न मानेका छैनन् भने अरु बैंकले पनि एनआइसी एसिया बैंकको चेक साँट्न मानेका छैनन् ।

उता, राष्ट्र बैंकले पनि बैंकर्स संघ र एनआइसी एसिया बैंकबीचको अहिलेको खिचातानीबाट सर्वसाधारण ग्राहकलाई कुनै पनि समस्या नपर्ने स्पष्ट पारेको छ । कुनै पनि बैंकले चेक साँट्दैनौं भन्न पाउँदैन । यो काण्डमा सर्वसाधारण लगानीकर्ता तथा सेवाग्राहीलाई केही पनि फरक पर्दैन । एकाउन्ट पेयी चेक पनि क्लियरेन्स गर्नुपर्छ । ग्राहकले एनआइसी एसियाको चेक लगेर अर्को बैंकमा सजिलै सटही गर्न सक्न सक्नेछन् ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बैंकर्स संघ र एनआइसी एसियाबीचका खिचातानी संस्थागतरुपमा मात्र भएको बताए । यसमा सर्वसाधाण ग्राहकलाई कुनै पनि समस्या नपर्ने उनले बताए । कुनै पनि बैंकले चेक सटही नगर्ने वा ग्राहकसँग सम्बन्धित कुनै पनि काम गर्दिन भन्न नपाउने उनले नेपाली पैसालाई जानकारी गराए । यस्तो गरिएको भेटिएमा तत्काल कारवाही गरिने प्रवक्ता पौडेलले बताए ।