प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले समुदायसँग मिलेर समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
कपिलवस्तु, ११ पुस ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुमा बुधवार आयोजित कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्वोधनको क्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।
तस्करी, गुण्डागर्दी र चन्दा आतंक फैलाउने विरुद्ध कडा रुपमा प्रस्तुत हुन र अपराध अनुसन्धानमा प्रमाणमुखी नीति अवलम्बन गरी काम गर्न प्रहरी महानिरीक्षक खनालले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कर्मचारीहरूले आफ्नो काममा उच्च व्यावसायिकता प्रदर्शन गर्दै पीडितलाई न्याय दिन सदैव दत्तचित्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
ट्राफिक व्यवस्थापनमा अझै सशक्त रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले ट्राफिक नियम तोड्नेलाई कडा कारवाही गर्न निर्देशन समेत दिनुभयो ।
प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारी संगठनको नीति र मर्यादा अनुरुप उच्च अनुशासनमा रहनुपर्ने उल्लेख गर्दै अनुशासन बाहिर जाने जोकोहीलाई कारवाही गरिने बताउनुभयो ।
प्रहरी महानिरीक्षक खनालले वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुको समेत आजै निरीक्षण भ्रमण गरी त्यहाँ भएका काम कारवाहीबारे जानकारी लिनुभएको छ ।
भ्रमणको क्रममा प्रहरी महानिरीक्षक खनालले नेपाल-भारत सीमा क्षेत्रस्थित भन्सार कार्यालय तथा सुरक्षा युनिटको अवलोकन एवम् निरीक्षण गरी त्यहाँबाट भए गरेका काम तथा शान्ति सुरक्षाबारे जानकारी लिनु भएको छ ।

(Nepal Police )