नेपाल–चीन सम्बन्ध गहिरिँदै जाँदा सर्वसाधारणसँगै नेपाल सरकारका अधिकारी पनि चिनियाँ भाषामा दीक्षित हुन थालेका छन्। केही महिनाअघि परराष्ट्र मन्त्रालयका अधिकारीहरूले चिनियाँ भाषा तालिम लिएको खबर आएको थियो भने अहिले पर्यटन मन्त्रालय र पर्यटन बोर्डका कर्मचारी पनि यसमा जोडिएका छन्।
मन्त्रालय, बोर्डका अधिकारी सहित चिनियाँ भाषा तालिम लिएका ४० जनाले मंगलबार चिनियाँ राजदूत यु होङबाट प्रमाणपत्र लिएका छन्। नेपाल–चाइना कल्चरल एण्ड एजुकेशनल काउन्सिलले काठमाडौंस्थित चिनियाँ दूतावाससँग मिलेर ६ महिने चिनियाँ भाषा तालिम दिएको हो।
काउन्सिलले मंगलबार नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा चिनियाँ भाषामा दिक्षीत ४० जनालाई प्रमाणपत्र वितरण गरिएको हो।
दुई वर्षअघि प्रधानमन्त्री केपी ओलीले पहिलो पटक चीन भ्रमण गर्दा दुई सय जना नेपालीलाई चिनियाँ भाषा तालिम दिन चीनले सहयोग गर्ने सहमति भएअनुसार यो तालिम आयोजना गरिएको काउन्सिलका सभापति हरिश चन्द्र साहले बताउनुभयो। उहाँले यो तेस्रो चरणसहित अहिलेसम्म १२० जनालाई तालिम दिइसकिएको र बाँकी ८० जनालाई पनि तालिम दिइने बताउनुभयो। काउन्सिलका सचिव दिलिप आचार्यका अनुसार यस पटक तालिम लिने ४० जनामध्ये केही पर्यटन मन्त्रालयका अधिकारी छन् भने नेपाल पर्यटन बोर्ड, टान र हानका कर्मचारी पनि रहेको नेपालखबरले जनाएको छ।