अस्ट्रेलियामा सन् २०२० मा गरिने आईसीसी विश्व कप टी ट्वान्टी क्रिकेट छनोट प्रतियोगिताको पहिलो खुड्किलो छिचोल्ने क्रममा नेपाल च्याम्पियन भएको छ । मलेसियामा सम्पन्न एसिया 'बी'को छनोट उपाधि उचाल्दै नेपाल एसिया छनोटमा पुग्न सफल भएको हो । प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो । नेपालले ५ खेल जित निकाल्यो भने सिंगापुरविरुद्धको अन्तिम खेल वर्षाले प्रभावित भएपछि बिनानतिजा सकियो । नेपाल र सिंगापुरबीच शुक्रबार सम्पन्न खेल वर्षाले नतिजाबिहीन भएपछि नेपाल रनरेटका आधारमा च्याम्पियन भएको हो । यो खेलमा नेपालले टस जित्दै पहिले बलिङ रोजेको थियो । पहिले बलिङमा जाने निर्णयलाई सही सावित गर्दै नेपाली बलरले कसिलो बलिङ गरेपछि सिंगापुर केबल ८१ रनमा समेटिएको थियो । सिंगापुरविरुद्ध सन्दीप लामिछानेले ४ विकेट लिए । १८ ओभर ३ बलमा अलआउट भएको सिंगापुर ८१ रन बनाएको थियो । ८२ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलमात्रै खेल्दा वर्षाका कारण खेल रोकिएको थियो । पानी नरोकिएपछि खेल नतिजाबिहीन बन्न पुग्यो । पाँचै खेल जितेको सिंगापुरभन्दा रनरेटमा माथि भएपछि नेपालले प्रतियोगिताको उपाधि पनि जित्न सफल भयो। यो प्रतियोगितामा नेपालले सुरुबाटै गतिलो प्रदर्शन गर्‍यो । प्रतियोगितामा सहभागी टिममध्ये नेपाल मात्रै एकदिवसीय क्रिकेटको मान्यता पाएको टिम थियो । नेपालको प्रदर्शन पनि उच्चस्तरको रह्यो । नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हरायो । दोस्रो खेलमा चीनलाई १० विकेटले नमिठो हार चखायो । तेस्रो खेलमा नेपालले भुटानविरुद्ध ११७ रनको जित दर्ता गर्‍यो । त्यसैगरि थाइल्याण्डविरुद्ध पनि नेपालले १४० रनको फराकिलो जित दर्ता गर्‍यो । नेपालले आयोजक मलेसियालाई ८ विकेटले हरायो । नेपालका सबै खेलमा नेपाली बलरहरु हावी भए । सन्दीप लामिछानेले प्रतियोगितामा सबैभन्दा बढी २४ विकेट लिन सफल भए । अब नेपालले विश्वकपमा पुग्न दोस्रो खुड्किलो पार गर्नका लागि एसिया छनोट खेल्नुपर्नेछ । च्याम्पियन भएको नेपालसँगै यो प्रतियोगिताबाट सिंगापुर र मलेसिया पनि एसिया छनोटमा पुग्न सफल भए । एसिया ए बाट यूएई, कतार र कुवेत छनोट भएका भएका छन्। अब छनोट भएका ६ देश सहभागी हुने एसिया छनोटबाट शीर्ष २ टिमले ग्लोबल छनोट खेल्नुपर्छ। ग्लोबल छनोटमा फरक फरक महादेशबाट आएका र आईसीसीको वरियतामा तल्लो स्थानका टीमले खेल्नेछन् । १४ टिम भिड्ने यस प्रतियोगिताबाट शीर्ष ६ टिम अस्ट्रेलियामा हुने टी-ट्वान्टी विश्व कपम पुग्नेछन् । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा सम्पन्न विश्व कप खेलिसकेको छ। (अन्नपुर्ण पोस्ट्)