नेपालका नेत्रहीन महिला क्रिकेटर पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछन्। आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा आयोजना हुने अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगितामा नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएका नेपाल खबर अनलाइनले लेखेको छ।
उक्त प्रतियोगिताका लागि नेत्रहीन क्रिकेट संघ नेपालबाट १५ जना दृष्टिविहीन महिला छनोट भएका छन्। कात्तिक १३ देखि १५ सम्म काठमाडौंमा भएको छनोट प्रतियोगिताबाट उनीहरू छानिएका हुन्।
क्रिकेटका वरिष्ठ प्रशिक्षकद्वय अरुण अर्यालको संयोजकत्वमा, सुनोज भट्टराई र नेत्रहीन क्रिकेट अम्पायरद्वय नहेन्द्र निरौला र गीता रेग्मीको छनोट समितिले १५ खेलाडी छनोट गरेको कार्यक्रम संयोजक निरोज गिरीले जानकारी दिनुभयो।
उहाँका अनुसार छनोट भएका खेलाडीमा आशा रेग्मी, रीता थापा, हीता गुरुङ, मुना अर्याल, सुष्मा तामाङ, सरिता घिमिरे, आयुष्मा क्षेत्री, भगवती अमगाई, मनकेशी चौधरी, विमला राई, मीना क्षेत्री, आशिका चौधरी, विनिता पुन, भगवती भट्टराई, गीता पौडेल छन्।
विश्वमा नेत्रहीन महिला क्रिकेटको सुरुवात गर्ने पहिलो देश नेपाल नै हो। सन् २००६ देखि नेपालमा नेत्रहीन महिलाको क्रिकेट सुरुआत भएको थियो। सन् २०१४ मा पहिलोपटक नेपालमा आयोजना भएको प्रतियोगितामा नेपालले युकेको टोलीलाई पराजित गरेको थियो।