गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम–कोरला खण्डको काम सुस्त भएको गुनासो बढेको बताउनुभएको छ। जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाको बिहीबार बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउन चौतर्फी रुपमा ताकेता गर्नुपर्ने बताउनुभयो। “कालीगण्डकी करिडोर र कोरला नाका गण्डकी प्रदेशको भाग्यरेखा हो, यसलाई कालीगण्डकी नदीको किनारैकिनार गैंडाकोट हुँदै त्रिवेणी नाका र पोखरासँग जोड्ने गरी गृहकार्य भइरहेको छ,” गुरुङले भन्नुभएको अनलाइनखबरले लेखेको छ। मुख्यमन्त्री गुरुङले आफ्नो प्रदेशमा सञ्चालित आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारले सहजीकरण र ताकेता गर्ने नीति लिएको बताउनुभयो। विकास निर्माणमा आइपर्ने अप्ठ्यारा र झण्झटलाई हटाएर लगानीमैत्री वातावरण बनाउनेतर्फ प्रदेश सरकारको ध्यान गएको उहाँको भनाइ थियो। यसैबीच जिल्ला समन्वय समिति म्याग्दीको दोस्रो जिल्ला सभाले जिल्लामा रहेका विभिन्न समसामयिक विषय समाधानको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। जिल्ला सभाले ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् अयोजनाको काम समयमै सम्पन्न गराउन सम्बन्धित कार्यालयसँग समन्वय गर्ने र अन्नपूर्ण हिमालको शुल्क अन्नपूर्ण गाउँपालिकालाई उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ।