काठमाडौं महानगरपालिकाले मुख्य सडक क्षेत्रमा ‘स्मार्ट सोलार डस्बीन’ (फोहोर फ्याँक्ने भाँडो) राख्न शुरु गरेको छ ।

महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पिपीपी) अवधारणा अनुसार काठमाडौंका विभिन्न क्षेत्रमा ‘स्मार्ट सोलार डस्बीन’ राख्ने योजना बनाएको छ ।पहिलो चरणमा हाल माइतीघरदेखि बानेश्वरसम्म १२ वटा सोलार डस्बीन राखिएको छ  ।

अब क्रमशः टुँडिखेल आसपास, रानीपोखरी आसपास, न्युरोडदेखि बसन्तपुर, माइतीघरदेखि थापाथली, भद्रकालीदेखि सिंहदरबार आसपासमा स्मार्ट सोलार डस्बीन राखिने छ ।अहिले हरेक दिन रातीको समयमा कम्तीमा ७ वटा ‘स्मार्ट सोलार डस्बीन’ राख्ने काम भइरहेको छ ।  महानगरपालकिाले हाललार्इ काठमाडौंभित्र ६० वटा यस्ता फोहोर फ्याँक्ने डस्बीन राख्ने योजना रहेको जनाएको छ ।

‘हाम्रो सफा काठमाडौं’ लेखिएको फोहोर फ्याँक्ने डस्बीनमा सोलार बत्ति समेत जडान गरिएकाले रातीको समय समेत प्रष्टसँग देखिनेछ ।

डस्बीनमा प्रदुषण मापन मीटर, तापक्रम मीटर, मोबाइल चार्जर समेत राखिएको छ । डस्बीनको पछाडि चार स्क्वायर फिटको फोहोर फ्याँक्ने ठाउँ रहने  छ ।