पोखरा प्रिमियर लिग क्रिकेटमा चितवन राइनोज लयमा देखिएको छ। उसले लगातार दोस्रो जित हात पारेको छ। विहीबार भएको पहिलो खेलमा चितवनले काठमाडौलाई १३ रनले हराउँदै प्लेअफ सम्भावना हरायो। जितसँगै चितवनको प्लेअफ खेल्ने संभावना बढाएको छ। पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४९ रन बनायो। लगातार तीन खेलको हारपछि धनगढी विरुद्ध पहिलो जित दर्ता गरेको चितवनले काठमाडौँ विरुद्ध पनि राम्रो सुरुवात गर्न सफल भयो । पहिलो विकेटका लागि हरिशंकर शाह र अनिल शाहले ५४ रनको गतिलो साझेदारी गरे। त्यसक्रममा अनिलले २७ रन बनाए । टिमको रन ७९ रन हुँदा चितवनका कप्तान ब्यक्तिगत १४ रनमा आउट भए । तर धनगढीविरुद्ध अर्धसतक बनाएका हरिशंकरले आज पनि ६० रन बनाए। उनले ४९ बलमा पाँच चौका र तीन छक्का हाने । यस्तै स्मिथ पटेलले ३१ रन र सन्नी पटेलले १३ रनको योगदान गरे । बलिङतर्फ बसन्त रेग्मीले दुई विकेट लिए । त्यसैगरि पवन सराफ र नन्दन यादवले एक एक विकेट झारे। जवाफी ब्याटिङमा गतिलो सुरुवात गर्न नसकेको काठमाडौ २० ओभरमा नौ विकेट गुमाउँदा एक सय ३६ रनमै समेटियो । १५ रनमा पहिलो विकेट गुमाएको काठमाडौँले २३ रनमा दोस्रो विकेट गुमायो । काठमाडौँका ओपनर जयकिशन कोल्सावल १८ रनमा आउट भए । त्यस्तै अमित श्रेष्ठ मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि पवन सराफ ब्यक्तिगत २८ रनमा आउट हुँदा काठमाडौले ८१ रनमा तेस्रो विकेट गुमायो । कप्तान ज्ञानेन्द्र मल्ल र विदेशी खेलाडी गौरभ तमोरबीच गतिलो तालमेल भइरहँदा चितवनका कप्तान पारस खड्काले साझेदारी तोडिदिए । तोमर ३९ रनमा आउट भएपछि काठमाडौँले खेल गुमाउन पुग्यो । लगत्तै नरेश बुढाऐर र कप्तान ज्ञानेन्द्र मल्ल पनि ३० रन तथा पृथु बास्कोटा मात्र चार रनमा आउट भएपछि काठमाडौँले एक सय २५ रनमा सात विकेट गुमायो। त्यसपछि अन्तिमक्रमका खेलाडी एकपछि अर्को आउट भएपछि काठमाडौले प्रतियोगितामा पहिलो हार भोग्यो । बलिङतर्फ चितवनका करण केसीले तीन र पारस खड्काले दुई विकेट लिए । (अन्नपुर्ण पोस्ट)