सडक बिस्तारको बिषयमा अन्तरक्रिया सम्पन्न ,विकास निर्माणको बिषयमा राजनीतिकरण गरि नगरपालिकाले भेद भाव गरेको आरोप 


 बूढानिलकण्ठ नगरपालिका वडा- ६ को कार्यालयमा हात्तिगौंडा चोक देखि खड्का गाउँ ,खत्री गाउँ ,राम सिता मन्दिर हुदै विष्णुमति पूल सम्मको सडक बिस्तार र भद्रकाली दुध डेरी ,सरस्वति मन्दिर च्यासिण्डोल हुदै जाने सडकको बिषयमा अन्तरक्रिया कार्यक्रम पौष २१ का दिन सम्पन्न गरेको छ l बूढानिलकण्ठ नगरपालिका वडा-६ को कार्यालयले आयोजना गरेको उक्त कार्य्र्कममा नगर प्रमुख उद्धव खरेल , वडा- ६ का अध्यक्ष नबिन केसी , वडा-७ का अध्यक्ष बस नारायण महर्जन लगायत वडा-६ का वासीहरुको उपश्थिति रहेको थियो l 

विवाद

सडक बिस्तारको बिषयमा सरकारले समयमा टेन्डर आह्वान नगरेको l

आफ्ना क्षेत्रका सभासद र मन्त्रिहरुले चासो नदेखाएको l

नगरपालिकाले पहल नगरेको l

घर खालि खाली गर्नु पर्ने र क्षतिपूर्तिको विषय प्रष्ट नभएको  l

विपक्षी दल नेपाली कांग्रेसले जितेको वडामा अन्य वडाको दाँजोमा कम विकास बजेट पारेको l

वडा-६ को विषयमा नगरपालिकाले राजनीतिकरण गरि भेद भाव गरेको l

वैकल्पिक मार्गको विषयलाइ लिएर विवाद  l


आरोप / सुझाव


 विपक्षी दल नेपाली कांग्रेसको जनप्रतिनिधि भएका कारण बूढानिलकण्ठ नगरपालिकाको अन्य वडा हेरीकन वडा- ६ को समस्या लगायत विकास निर्माणको विषयमा नगरपालिकाले राजनीतिकरण गरि भेदभाव गरेको आरोप वडा-६ का वासीले लगाएका छन् l 

एमालेले जितेको वडामा ह्वार ह्वारती बजेट हाल्ने हाम्रो वडा-६ मा कांग्रेसकै जन प्रतिनिधि भएको कारण बजेट नहाल्ने, यो बाटो अहिले सम्म बन्न सकेको नि छैन यसमा नगरपालिकाले मतलव नै गरेको छैन l

सडक विस्तारको कार्यको नाममा सडक लथालिङ्ग गरि राखेको ,यस विषयमा नगरपालिका ,क्षेत्र न ५ का प्रदेश सभासदहरुले पनि चासो नदेखाएको र यदि नगरपालिकाले चासो वा पहल नगरेता पनि उक्त सडक निर्माण गर्न वडा वासी स्वयं सक्षम रहेको भनाइ राखेको थियो l

प्राधिकरणले जथाभावी सडक बिस्तारको कार्य गरि रहेको वडा ,नगरपालिकासम्म पुग्दा नि समस्याको सुनुवाई नभएको र कुनै आग्रह -पूर्वाग्रह नराखी तत्काल यो समस्याको समाधान गर्न आग्रह गरेका थिए l

वर्षा याम आउनु भन्दाअगाडि नै उक्त सडक निर्माणका लागि नगरपालिकाले केन्द्र वा प्रदेश सरकारमा पहल गर्नु पर्ने सुझाव स्थानीयले दिएका थिए   l

८ मिटरको रेखाङ्कन गरेको अवस्थामा त्यो भन्दा बढि १०-१२ मिटर सडक बिस्तार गर्ने भन्ने कुरा हुनु भएन l सडक विस्तारको क्रममा कति घर पर्छन र त्यो घरको तथ्यांक निकाली पिडित जनतालाइ पत्राचार गरेर उक्त कार्य अगाडि बढाउन सुझाव दिएको थियो l 

 


खण्डन 


नगर प्रमुख उद्धव खरेलले वडा वासीले लगाएको आरोपको खण्डन गर्दै  भने: सबै भन्दा पहिले एमाले कांग्रेस भन्दा पनि तपाइँहरुले भोट दिएर जिताएका स्थानिय तहको जन प्रतिनिधिहरु तपाइँहरुको समक्ष छौँ l मुख्यत यस सडक विस्तार कार्यका लागि सरकारले प्राथमिकताका साथ बजेट निर्धारण नगर्नु ,समयमै टेण्डर आहवान गर्न नसक्नु र आन्तरिक विवादका कारणले गर्दा उक्त सडक खण्ड समयमा निर्माण हुन नसकेको हो l स्थानिय तहलाई नै अधिकार छ भन्छ, केन्द्र सरकार तर जनताको घर त्यतिकै भत्काउन जाने कुरा नि आएन l नगरपालिकाको अन्य क्षेत्रमा केन्द्र सरकार बाट शुरु गरेको सडक विस्तार र निर्माण कार्य भइरहेको अवस्थामा ६ नम्बर वडामा रहेको यस सडक खण्डको विस्तारको कार्यले गति नलिएपछि हामीले उपप्रधान एवं रक्षा मन्त्रि लगायत केन्द्र सरकारलाई पहल गरेर तत्काल यो सडक बिस्तारको कार्यलाई अगाडि बढाउन आग्रह गरेका थियौँ l पूर्वाधार बिकास कोषको ४ करोड बजेट लगानी गर्ने कुरा भएको छl सडक निर्माण वा बिस्तार भन्दा पहिला ढल व्यवस्थापनको कार्य सकी वडा वासीले हिड्न लायकको बनाउनु हो l यसको लागि नगरपालिकाको तर्फ बाट गर्नुपर्ने पहल गरेका छौँl नगरपालिकाले राजनीतिकरण गरि भेदभाव नगरेको र वडा ६ को विकास निर्माण र समस्यामा हामीले आग्रह पूर्वाग्रह केहि राखेका छैनौँ l कांग्रेस एमाले भनेर राजनीतिकरण गरेको छैन र बजेट दिएन भन्ने कुरा निराधार हुन् l हाम्रो राजनीति भनेको नै यो सडक बिस्तारको कार्य जसरि भएपनि सम्पन्न गरि यो समस्या बाट जनतालाई मुक्त पार्नु हो  l ढल व्यवस्थापन नगरी सडक बिस्तार कार्य नगरिने ७ दिन भित्र डिजी लेराइ निरीक्षण गराएपछि  जन सहभागितामा बन्ने सडक हो l सानो पर्खालहरु आफैँ हटाउनु पर्यो, ठुला घर भएमा सुचना जारी गरिने र क्षतिपूर्तिको पूर्ण विवरण नआउन्जेल घर भत्काउनु पर्दैन l यो सडक बिस्तारको समस्यालाई नगरपालिकाले प्राथमिकतामा राखेर गर्नुपर्ने पहल गर्नेछ l 

यस सडक खण्डको विस्तारको कार्यले गति नलिएपछि वडा वासीको आग्रहमा वडा-६ को कार्यालयले उक्त अन्तरक्रिया कार्यक्रम राखेको अध्यक्ष नविन केसीले जानकारी दिंदै ; यो सडक खण्ड अब ८ मिटरको बन्छ तर वडा वासीको समस्या समाधान नगरिकन यो सडक विस्तारको कार्य अगाडी बढ्दैन l डेढ दशक देखि समस्याको रुपमा रहेको खाने पानि व्यास्वस्थापनको लागि वडा स्तरिय कार्य अगाडी बढाएका छौँ l पहल गर्नुपर्ने ठाउँमा गएर गर्नेछौं l वडाले पठाएको सम्पूर्ण नगरपालिका स्तरिय योजनाहरु सम्पन्न  गरिसकेका छौँ र आउदो बर्ष उक्त कार्यहरुले निरन्तरता पाउनेछ l यस अन्तरक्रीया कार्यक्रम वडा वासीको सहभागिता होस् भनेर नै गरेको होl यस सडक खण्ड विस्तार र निर्माणमा धेरै ढिला हुने भएमा वडाले पनि भइरहेको बाटो व्यवस्थापनको लागि कार्य गरिने निर्णयहरु गरेको छ l अनुगमन र बजेट पारदर्शिताको विषयलाइ लिएर स्थानीयको सहभागितामा समितिहरु गठन गर्नेछौँ l नगरपालिकाले वडासंग गर्नुपर्ने साथ सहयोगका कुराहरु सौहार्द रुपमा भइरहेतापनि यो सडक खण्ड विस्तार परियोजनाले समस्या उत्पन्न गराएको हो


सडक बिस्तार / समस्या 


पहिलो संस्करणमा केरुङ्ग ,टोखा हुदै हात्तिगौंडा चोकसम्म आउने वा बाहिरी चक्रपथ मध्य पर्ने सम्म भनिएको उक्त सडक खण्ड १२ मिटरको हुने भन्ने कुरा आउँदै गर्दा अहिले ८ मिटरमा टुंगिएको छ l हात्तिगौंडा चोक देखि खड्का गाउँ ,खत्री गाउँ ,राम सिता मन्दिर हुँदै विष्णुमति पूलसम्म १५०० मिटर र भद्रकाली दुध डेरी ,सरस्वति मन्दिर च्यासिण्डोल हुदै जाने १००० मिटरको सडक बिस्तार परियोजना हो l बूढानीलकण्ठ क्षेत्रमा करीव ३५ -४० बर्ष पहिले खोलेको उक्त २० फुटे सडक खण्ड हाल १६ फुटे रहेको छ l केहि वर्ष अघि नेपाल सरकारको शहरी विकास परियोजना अन्तर्गत परेको उक्त परियोजना हात्तिगौंडा चोक देखि खड्का गाउँ ,खत्री गाउँ ,राम सिता मन्दिर हुँदै विष्णुमति पूलसम्म ८ मिटरको चौडाई रहने गरि डेढ किलोमीटर सडक विस्तार गर्ने निर्णय गरेको थियो l

उक्त निर्णय पश्चात उपत्यका विकास प्राधिकरण मार्फत उक्त सडक विस्तारको कार्यको शुरुवात गरेको थियो l शुरुवाती सडक विस्तारको क्रममा सिमित बजेट भएको कारण विभिन्न उपभोक्ता समिति गठन गरि केहि ठाउँमा ढलान र पिच निर्माण भने गरेको छl असारे विकास निर्माण गर्ने प्रवृतिका कारण बाँकी रहेको सडक निर्माण कार्यका लागि नेपाल सरकारले टेण्डर आह्वान गर्न सकेको छैन । यहि प्रवृतिका कारण सडक बिस्तारको विषयमा थप समस्या बढ्न गएको अवस्था छl बिगतमा राजनीतिक एजेण्डाका रुपमा आ- आफ्ना पार्टीको नेतालाइ पहल गरि पुर्ण बजेट नलेराई उपभोक्ता समिति बनाई  टाल टुले सडक निर्माण कार्य गरिएको थियो l  त्यस सडक खण्डको केहि भाग निर्माण गरेत पनि कति बजेट सकियो त्यसको केहि लेखा जोखा छैन l यस बारे वडा र नगरसंग पनि आधिकारिक जानकारी छैन l केहि हदसम्म उक्त टाल- टुले सडक निर्माणको जस कसले र कुन पार्टीले लिने भन्नेसम्म विवादमा आएको उक्त सडक खण्ड मुलत बर्षा याममा पानीले भरि हिलाम्य भएपछी वडा वासीलाइ हिड्न मुश्किल हुने गरेको छ l वडा वासीको दुख र पिडा एकातिर पार्टीका कार्यकर्ताको कुरा एकातिर छन् l वडा वासी चाहन्छन् आउँदो वर्षा भन्दा अगाडि केहि हद सम्म उक्त सडकले आफ्नो स्वरुप बदलोस l खाने पानी, बिजुलीका पोल व्यवस्थापन , ढल व्यवस्थापनको बिषय भन्दा पनि सडक विस्तारको क्रममा त्यस वडामा रहेका कतिपय घरहरु भत्काउनुपर्ने अवस्था रहेको र त्यहि विषय नै समस्याको रुपमा परिणत भएको छ l सडकका दाया बाया रेखाङ्कन समेत गरिसक्दा पनि यावत आन्तरिक विवादका कारण उक्त कार्यले निरन्तरता पाएको छैन l  बिस्तारको क्रममा घरको क्षतिपूर्ति दिइएता पनि जग्गाको क्षतिपूर्ति नदिने सरकारको निर्णयलाइ सर्वोच्च अदालतले क्षतिपूर्ति नदिए भत्काउन नमिल्ने भनि आदेश  दिएको अवस्थामा तत्काल उक्त सडक बिस्तारको कार्यले गति लिन सक्ने अवस्था छैनl केन्द्र सरकार आफैँले लगानी गरेको उक्त सडक बिस्तार परियोजनामा बूढानीलकण्ठ नगरपालिकाले पहल कदमी कार्य बाहेक अरु केहि काम गर्न  सक्ने अवस्था छैन l आउने भनिएको ४ करोडले निर्माण गर्न बाँकी रहेको सडकमा ग्र्यावेल हाले मात्र पनि वडा वासीलाई उक्त सडक प्रयोग गर्नमा केहि सजिलो हुने देखिन्छ  तर कहिले सम्म ग्र्यावेल हाल्छ भन्ने कुराको टुंगो भने लागेको छैन l बूढानीलकण्ठ नगरपालिकामा केन्द्र सरकारबाट परेका अधिकांश सडक बिस्तार र निर्माण कार्यको अवस्था लगभग एउटै रहेको छl समयमा निर्माण सम्पन्न नहुने , डोजर लगाएर बाटो लथालिंग अवस्थामा रहेको छ l