सरकारले आज (सोमबार) विद्यार्थी भर्ना अभियान सुरु गरेको छ। ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔँ’ नाराका साथ शिक्षा मन्त्रालयले अभियान सुरु गर्न लागेको हो।
देशका ७५३ वटै स्थानीय तहमा घरदैलो अभियान गरेर पढ्ने उमेर भएका बालबालिकालाई स्कुल भर्नाका लागि आह्वान गरिने मन्त्रालयले जनाएको छ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार यस वर्ष ९१ हजार बालबालिका विद्यालय बाहिर छन्। गएको वर्ष ६० हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेकामा बढेर यस वर्ष ९१ हजार पुगेको हो।

केन्द्रका अनुसार यो संख्या २०६८ को जनगणनाअनुसार निकालिएको हो। यसकारण अहिले विद्यालय जाने उमेर भएका तर भर्ना नभएका बालबालिकाको संख्या एक लाखभन्दा बढी भएको अनुमान छ।