सोमबार साँझ महानगरीय प्रहरी वृत, महाराजगञ्जबाट एक प्रहरी टोली गस्तीको क्रममा नयाँबसपार्क पुगेको थियो  । उक्त क्षेत्रको गतिविधि नियालीरहेको प्रहरीले  गेष्ट हाउस नजिकैबाट शंका लागेर एक व्यक्तिलाई प्रहरीले सोधपुछ गर्ने  क्रममा  वर्ष २१ का चाइनिज भनिने सुमन थापालाई खानतलासी गर्दा उनको साथबाट प्रहरीले चोरीको सुनका गहना फेला परेपछि लगत्तै थापालाई केरकार गर्दा गेष्ट हाउसमा थप केही साथीहरु रहेको बताएको थियो  । गेष्ट हाउसको ३०१ कोठा नम्बरमा पुगेर जब प्रहरीले ३ महिलासहित ७ जनालाई नियन्त्रणमा लिएपछि उनीहरु सातैजना चोरी कार्यमा संलग्न रहेको पाइएको र चोरीका गरगहना काठमाडौं महानगरपालिका–१६ स्थित कुमारीस्थानमा रहेको एक सुनचाँदी पसलमा बेच्ने गरेको खुल्न आएको छ । उक्त सुनचाँदी पसलमा बेच्ने गरेको पाइएपछि प्रहरीले पसलकी सञ्चालिका सबिता सुनारलाई समेत नियन्त्रणमा लिई सोधपुछ गरेको छ । 

सबिताको सूचनाको आधारमा प्रहरीले चोरीका गहना किन्ने कार्यमा संलग्न गौतम मन्ना नाम गरेका भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत, महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले ९९९९ गोल्डेन अर्नामेन्ट एन्ड ज्वेलरीमा कार्यरत गौतम मन्नालाई ६२.२० ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए । 

उनले पक्राउ परेका सबैलाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको पनि बताए ।