कांग्रेसले भन्यो : राष्ट्रपति एमाले बन्न मिल्छ ?

[[IMG_ALT]]

b s g news | National News | Falgun 8

नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले भएर काम गरेको भन्दै उनको भूमिकाप्रति आपत्ति जनाएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा गरेको तीन जना सिफारिसलाई राष्ट्रपति भण्डारीले अनुमोदन गरेपछि कांग्रेसले राष्ट्रपतिको भूमिका पार्टीको नेताको जस्तो भएको भन्दै आपत्ति जनाएको हो ।

पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र राष्ट्रपतिको कदम पार्टीको हितभन्दा माथि उठ्न नसकेको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभामा गरेको सिफारिस रद्द गर्दै केपी ओली सरकारले मंगलबार तीन जनालाई सिफारिस गरेको थियो, ओली सरकारबाट सिफारिस हुनेवित्तिकै राष्ट्रपति विद्या भण्डारीले सदर गरेकी छिन, जवकि देउवा सरकारले सिफारिस गरेको तीन जनाईलाई राष्ट्रपति भण्डारीले होल्ड गरेर राखेकी थिइन । राष्ट्रपति जस्तो सबैको अभिभावक बन्नुपर्ने व्यक्तिएमाले पार्टीको नेता बनेको कांग्रेसले प्रतिक्रिया दिएको हो ।

राष्ट्रपतिले अघिल्लो सरकारले गरेको सिफारिस कार्यान्वयनमा ढिलाइप्रति पनि प्रवक्ता शर्माले आपत्ति जनाए । उनले भने, ‘एउटा सरकारलाई एउटा चश्माले हेर्ने, अर्को सरकारलाई अर्को चश्माले हेर्नेखालको सन्देश गएको हो कि भन्ने हाम्रो ठहर छ ।’

मुख्य प्रतिपक्षसँग सरकार गम्भीर र जिम्मेवार हुनुपर्ने भन्दै प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्रीले आफूलाई कसरी अगाडि बढाउन चाहनुहुन्छ भन्ने सुरुवातमा उहाँले लिने निर्णयहरुबाट झल्किन्छ भन्ने हाम्रो ठहर छ ।’ शर्माले अघि भने, ‘अघिल्लो सरकारका निर्णयहरुका सन्दर्भमा अहिलेको सरकारले लिने निर्णय र राख्ने व्यवहारअनुरुप हाम्रो सम्वन्ध परिभाषित हुन्छ ।’