झापाको अर्जुनधारा नगरपालिका क्षेत्रका औषधि पसलहरुमा प्रतिबन्धित तथा अवैध औषधि खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ।

औषधि विभागमा दर्ता नै नभएका र लागुऔषधको रुपमा प्रयोग गर्ने गरेका ती औषधि खुलेआम रुपमा बिक्री वितरण भइरहेको भेटिएको हो । सोमबार अनुगमन टोलीले अनुगमन गर्ने क्रममा अर्जुनधारा नगरपालिका क्षेत्रका औषधि पसलमा मेडासलिक स्किन साइन, इलोसन इएचटी नामक नेपालमा प्रतिबन्धित औषधि भेटेको हो । त्यस्ता औषधि अनुगमन टोलीले जफत पनि गरेको छ।

बिर्तामोड र भद्रपुरमा व्यवसाय गर्दै आएका धर्म साहबाट त्यस्ता औषधि आयात हुने गरेको अनुगमनको क्रममा खुलेको नगरपालिकाका स्वास्थ्य संयोजक मुकुन्द बस्नेतले बताए।

नगरपालिकाले सोमबार अर्जुनधारा नगरपालिकाको खुदुनाबारी बजार क्षेत्रका औषधि पसल सहित विभिन्न ४२ वटा पसलमा अनुगमन गरेको थियो । चाडपर्वको समयमा मात्र अनुगमन गर्ने र अन्य समयमा छाडा छोडिदिँदा उपभोक्ता ठगिने गरेको गुनासो आएपछि नगरपालिकाको अनुगमन समितिले अनुगमन गरेको हो।

(अन्नपुर्ण पोस्ट)