चारै तिर मनमोहक हिमाल। वरपरको हरियाली जंगल बिचमा सुन्दर रारा ताल, महेन्द्र तालका रुपमा परिचित रारा ताल यति बेला हिउँले सेताम्य भई सजिएको छ। समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारामा यतिबेला हिउँले ढाकिएर सेताम्य देखिन्छ। आईतबारदेखि परेको हिउँले पर्यटकको मन लोभ्याएको छ। रारा वरपर आन्तरिक पर्यटक हिउँमा रमाउने फोटो खिच्ने हिउँसँग लुकामारी गर्ने गरेका छन्। रारा साच्चै धर्तिको स्वर्ग हो रारा तालले दिनमा निकैचोटि रङ्ग फेर्छ। कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो। रारा तालले मौसम अनुसार दिनमै चार पाँच चोटी रङ्ग फेरिरहन्छ र अझै मनमोहक भइदिन्छ। त्यहि रङ्गफेर्ने रारातालको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया। अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा देखिन्छ। २०६९ साल पुस १ गते सडक उद्घाटन भई सदरमुकाम गमगडीसँग जोडिएको रारामा यसको एक वर्षपछि नियमित रुपमा गाडी चल्न थाल्यो। त्यसयता रारा आउनेलाई सजिलो भयो। ‘रारा पुग्नेहरु सदरमुकाम गमगढी पनि झर्छन्। रारामा पर्यटक बढे, स्थानीय व्यवसायीको आम्दानी पनि बढ्यो,’ बुद्ध गेष्ट हाउस गमगढीका सञ्चालक मनमान बुढाले भने। पर्यटकलाई राराको सुन्दरताले लोभ्याएर मुगुसम्म पुर्‍याउँछ, मुगुका उत्पादनहरु चिनो ठानेर किनेर लैजान्छन् । तर रारा पुग्नेहरुका लागि पर्यटकीय व्यवस्थापन अपुग भएको पर्यटकको गुनासो छ। अचेल मुगुको रारामा वर्षको लाखौ देश भित्र र बाहिरका पर्यटक घुम्न जान्छन्। पर्यटक बढे यता मुगुको आम्दानी बार्षिक ४० प्रतिशतले बढेको छ। पहिले पहिले मुगुको गरिबीको मात्र प्रचार गरिन्थ्यो। अचेल पर्यटक प्रर्वद्धन गरेर मुगुको विकास गर्न सकिन्छ भन्ने बहस उँचो भएको छ। (सेतोपाटी)