काठमाडौं, जेठ २० गते । सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई असार ९ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दुई चरणमा खोप लगाउने जानकारी दिनुभयो ।

मन्त्री खतिवडाका अनुसार सरकारले पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको गरी खोप अभियान सञ्चालन गरिने भएको हो ।

बाँकी रहेका ५० वटा जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरिने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

खोप सुरक्षित र प्रभावकारी भएकोले सबै अभिभावकलाई निर्धक्क भएर बालबालिकालाई खोप लगाउन मन्त्री खतिवडाले आग्रह गर्नुभयो ।

बालबालिकाहरुलाई खोप लगाउन सरकारले विद्यालयमानै खोप केन्द्र तोकेको छ । यसको लागि संघदेखि स्थानिय तहसम्म खोप कार्यक्रम सञ्चालन गर्न युएस आइडिले सहयोग गरेको मन्त्री खतिवडाले बताउनुभयो ।

कोभ्याकस सुविधाअन्तर्गत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप आउने स्वास्थ्य सेवा विभागअन्तर्गतक आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।

खोप सल्लाहकार समितिको सिफारिसपछि नेपालमा बालबालिकाका लागि खोप दिने प्रक्रिया अगाडि बढेको थियो ।

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म चार करोड ३४ लाख ४६ हजार ५०८ मात्रा खोप लगाएका छन् ।

जसमध्ये एक करोड ९० लाख २९ हजार ३३९ जनाले एकमात्रा र एक करोड ९९ लाख दुई हजार ५५ जनाले पूर्णमात्रा खोप लगाएका छन् । यसैगरी, ४५ लाख १५ हजार ११४ जनाले अतिरिक्तमात्र खोप लगाएका छन् ।  

यसअघि सरकाले सरकारले १२ वर्षका नागरिकलाई निशुल्क खोप अभियान संचालन गर्दै आएको छ ।  पूर्ण खोप लगाएको तीन महिना पुगेकाहरुलाई अतिरिक्त मात्र खोप लगाउन सरकाले आग्रह गर्दै आएको छ।