चितवन, चैत ७ गते । चितवनको पर्यटकीय क्षेत्र सौराहामा नयाँ पर्यटकीय गन्तव्य क्यानोपी निर्माण गरिने भएको छ । पर्यटकलाई थप आकर्षण गर्न सौराहा नजिकै रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनमा ‘क्यानोपी’को अवधारणा अगाडि बढाइएको हो ।

एक रुखदेखि अर्को रुखसम्म अड्याएर झोलुङ्गे पुलजस्तो वा एउटै रुखमा जङ्गल र जनावर हेर्न सकिने गरी निर्माण गरिएको संरचना नै ‘क्यानोपी’ हो । सामुदायिक वनभित्र झोलुङ्गे पुलजस्तो संरचनाको ‘क्यानोपी’ निर्माण गरिने भएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङले भन्नुभयो, “हात्ती चढेर जनावर हेर्ने, जिप सफारी, पैदल यात्रा पुरानो भयो । अब यहाँ नयाँ योजना निर्माण गर्नुपर्ने भएकाले क्यानोपीको तयारी गरिएको हो ।”

मध्यवर्ती वनको बूढीराप्ती र राप्ती नदीको सङ्गम नजिक निर्माण हुने ‘क्यानोपी’बाट पर्यटकले वन्यजन्तु अवलोकन गर्न पाउनेछन् । ‘क्यानोपी’ निर्माणका लागि बाघमारा मध्यवर्ती सामुदायिक वनको लगानीमा विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार गरिरहेको वनका अध्यक्ष तामाङले जानकारी दिनुभयो । डीपीआरका लागि मात्रै ३० लाख रुपियाँ लाग्ने र त्यो खर्च सामुदायिक वनले गर्ने उहाँले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र सामुदायिक वनको पहलमा वातावरण तथा वन्यजन्तुमैत्री ‘क्यानोपी’ निर्माण हुनेछ । तीन÷चार महिनामा डीपीआर तयार गर्ने र अबको डेढ वर्षभित्र करिब आठ करोड रुपियाँको लागतमा निर्माण गरी सञ्चालनमा ल्याउने अवधारणा अगाडि बढाइएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । सौराहामा कम्तीमा एक किलोमिटर लम्बाइ र २५ फिट अग्लो क्यानोपी निर्माण गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्जभित्र निर्माण गर्न अनुमति दिने तयारी नभएको चर्चा गर्दै भन्नुभयो, “मध्यवर्ती क्षेत्रमा भने विस्तृत योजना हेरेर मात्र अनुमति दिइनेछ । ” सौराहाको पर्यटन वन्यजन्तुमा आधारित छ । पशु अधिकार र जनावरलाई दुःख दिन हुन्न भन्ने मानसिकताको विकाससँगै सौराहा आउने पर्यटकले हात्ती सफारी गर्न छाडेका छन् । सौराहामा आउने कुल पर्यटकमध्ये २५ प्रतिशत पर्यटकले मात्र हात्ती सफारी गर्ने गरेको आकलन गर्न थालिएको छ । हात्ती सफारीको विकल्पका लागि नभई पर्यटकलाई नयाँ स्वाद दिन ‘क्यानोपी वाक’को अवधारणा ल्याइएको वनका अध्यक्ष तामाङ्गले बताउनुभयो ।

बीचबीचमा पर्यटकलाई थकाइ मार्न छवटा प्राकृतिक मचान निर्माण हुनेछ । मान्छेले वन्यजन्तु देख्ने र वन्यजन्तुले मान्छेलाई नदेख्ने गरी सिमलको रुखमा मचान निर्माण हुनेछ । सौराहामा पर्यटक जङ्गल सफारी, हात्ती सफारी, डुङ्गा सयर, जिप सफारी, थारू संस्कृति तथा वन्यजन्तुको अवलोकनका लागि आउँछन् । “कोरोनासँग जुध्दै अगाडि बढेको सौराहालाई पुरानै लयमा फर्काउन नयाँनयाँ कार्यक्रम आवश्यक छ । सरकारसँग सहकार्य गरी घुमौँ, सौराहा अभियान सञ्चालन गर्ने सोच बनाइएको छ,” क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईले भन्नुभयो ।