गमलामा फुलेको सयपत्रीको रंग हेर्दै

मनमा उमंग रंगाउदै छु

यो बिहानको कलिलो न्यानो घाम मनमा कैद गर्दै छु

झिकेर त्यहि अलिअलि न्यानोपन मलाई कटाउनु छ

शिशिरका ठिहिर्याउने दिनहरु

 

जसरी वर्षौँ अघिको तस्वीरहरु मनको एल्बममा सुरक्षित राखेर

म नोस्टाल्जियाको मिठो उर्जाले बाँचिरहेछु

कुनै जमानामा पाक्दै गरेको धानको बासना केतुकिको

पर्खाल उक्लिएर ल्याउँथ्यो सुवास आश्विनको

गाइनेकीराको पखेटा समातेर जुधाउँदै मानेको रमाइलो रिप्ले गरिरहन्छु म स्मृतिको ग्यालरीमा

 

ट्रयाक्टरको बुइ चढेर आएको रातो माटो मुसेर आमा

भित्ताको क्यान्भासमा बडो खुशीले पोत्नुहुन्थ्यो ऐश्वर्यको रंग

म चाहिँ सुकाइएको डसनामा लडिबुडि गर्दै हेररिरहन्थेँ बादलका कटन क्यान्डीहरु

स्कूलको दोस्रो त्रैमासिक परिक्षा लगत्तै आउने होमवर्क नयाँ बास्नादार कापीहरुमा पोखेर

म हावा झैँ बत्तिन्थेँ पिंग भएतिर

 

भदौ देखि नै क्यालेन्डरसंग त मानौं माया नै बस्थ्यो हेरिरहन मन लाग्थ्यो

आश्विन दसैँ मात्र हैन बेपर्वाह खुशी ल्याउँथ्यो

महिना दिनको लागि हामीलाई पौडीबाज बनाउँथ्यो

आज हेर्छु म खेतमा बाउसे गर्ने पाखुरा नभएर

झ्याउरे भाका गाउने स्वर मरुभूमी भासिएर फलेका छन्

अनगिन्ती सटरहरु कस्तै चेपमा पनि फलेकै छ एउटा पसल

 

आमाहरु रँगाउदैनन् माटोले घरका भित्ता,

एकोहोरो हेरिरहन्छन् झ्याल बाहिर!

 

“तिन धर्के डरायो, रातो चंगा धागो छोड” भन्ने आवाजको खेल्ने ठाउँ छैन

हिजो गाइनेकीरा र चंगाको पछि दौडने सबै

जीन्दगीको दौडमा सामेल भएर कतै हराए

फर्की आउँछु भनेर जानेहरुले

सायद घरको बाटै बिर्सिए

त्यसैले कैद गर्दै छु सके जति रंग

सुनौलो घामको रंग, पहेँलो सयपत्रीको रंग, निलो मखमलीको रंग, रातो टिकाको रंग

यिनै रंगका धर्काहरुले बनाएर एउटा रंगीन चंगा उडाउनु छ जिन्दगीको आकाशमा

जिन्दगी जो हिजो भन्दा आज जरुर फिक्का छ

तर भोली फर्किएर हेर्दा रंगविहिन नहुन्

जिन्दगीको एल्बममा आश्विनका तस्वीरहरु

 

-नारायणी खड्का