प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकै छ । निर्वाचनका लागि दलहरु प्रचारप्रसारमा व्यस्त छन् भने चुनावको मुखमा रोजगारीको खोजीमा छिमेकी मुलुक भारत जान बाध्य छन्, नेपाली युवाहरु । 

मतदानका लागि नौ दिन बाँकी रहँदा नेपालगञ्ज नाका हुँदै पश्चिम नेपालका सयौं युवाहरु रोजगारीका लागि भारततर्फ जान बाध्य छन् । भारतबाट निर्वाचनमा सहभागl हुन स्वदेश  फर्किने र रोजगारीका लागि भारत छिर्ने युवाहरुको सङ्ख्या धेरै छ । 

रोजगारीका लागि भारत गएकाहरु मतदान गर्न फर्किने र खेतीपातीको काम सकेर रोजगारीको खोजीमा भारत छिर्ने नेपाली युवाहरुका जमात देख्न सकिन्छ, नेपाल–भारत जमुनाहा नाकामा ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख वरिष्ठ सई माधव रिजालले देश चुनावमय बन्दै गएको बेला पनि दैनिक ठूलो सङ्ख्यामा नेपाली युवा रोजगारीका लागि भारत गइरहेको बताउनुभयो । 

समूह–समूह बनाएर भारततिर जाने नेपालीको नेपालगञ्ज नाकामा अहिले पनि लर्को नै लागेको प्रहरीले जनाएको छ । विशेष गरेर कर्णाली प्रदेशका दैलेख, कालिकोट, जाजरकोट, रुकुम, रोल्पाका नागरिक यो नाका हुँदै भारततर्फ गइरहेका छन् । उनीहरूमध्ये धेरैको गन्तव्य भारतको कालापहाड, सिमला, प्रयाग, हैदरावाद र गुजरात हुने गरेको छ । 

निर्वाचनको बेला भारत जान लाग्नुभएका कालिकोटका हर्कबहादुर विकले मलाई चुनावमा मत हालेर कसैलाई जिताउने र कसैलाई हराउने रहर छैन, हामीले भोट हालेर के नै हुन्छ र ? भन्दै दुःखेसो पोख्नुभयो । 

कर्णाली प्रदेशका बहुसङ्ख्यक नागरिकले भारत गएर मौसमी मजदुरी गर्न बाध्य रहेको बताउनुहुँदै विकले काम नपाएपछि पेट पाल्न भारत जानैपर्ने बाध्यता रहेको बताउनुभयो । 

आफ्नो उत्पादनले तीन महिना पनि खान नपुग्ने हुँदा धेरैजना परिवारसहित नै मजदुरी गर्न भारत जानुपरेको नाकामा भेटिएका अधिकांशको भनाइ छ । 

सल्यानका दीपक सुनारले चुनावको मतलब नगरी कमाउन हिँडेको बताउनुभयो ।  ‘‘चुनावमा मतदान गर्न बसिएन । हामी मजदुरी गरेर खानेलाई केको चुनाव ? अहिले गए पनि उही र पछि गए पनि उही, आखिर जानैपर्छ ।,’’ सुनारले भन्नुभयो । 

भारतको रुपैडिहाबाट विभिन्न स्थानका लागि छुट्ने अधिकांश बसमा नेपालीमात्रै देखिन्छन् । अहिले रुपैडियाबाट नेपालीमात्रै भरिएर दैनिक ८–१० वटा बस गइरहेका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाले दैनिक पाँच सयभन्दा बढी नेपाली कामका लागि भारततिर गइरहेको जनाएको छ ।