आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा रु दुई खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल रु दुई खर्ब ७३ अर्ब ६० करोड बराबरको सामान आयात गरेको छ भने रु २८ अर्ब ६८ करोड बराबरको सामान निर्यात गरेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सामान निर्यात ३४ दशमलव नौ प्रतिशतले घटेको छ भने आयात पनि १३ प्रतिशतले घटेको छ ।

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यातमा क्रमशः ४५ दशमलव दुई प्रतिशत र २१ दशमलव छ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३ दशमलव दुई प्रतिशतले बढेको छ । जिङ्क शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोसाक, आयुर्वेदिक औषधिलगायत वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, अलैँची, दन्त मञ्जनलगायत वस्तुको निर्यात घटेको छ ।

त्यसैगरी पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधि, हवाइजहाज तथा स्पेयर पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम।एस।ब्लेटलगायत वस्तुको आयात घटेको छ ।

निर्यातर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानी बाहेक अन्य प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।