जाडो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् । जाडोमा ब्याक्टेरिया र भाइरस सक्रिय हुने हुँदा विभिन्न स्वास्थ्य समस्या देखिने हुनाले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको भनाइ छ । चिकित्सका अनुसार जाडोमा मौसम परिवर्तनसँगै इन्फ्ल्युन्जाका र भाइरसका कीटाणु सक्रिय हुन्छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जाडो मौसममा सरुवा रोगमा श्वासप्रश्वास र पेटसम्बन्धी समस्या बढी देखिने बताउनुभयो ।  

उहाँले भन्नुभयो, “जाडो मौसममा विशेषतः दुई प्रकारका सरुवा रोग श्वासप्रश्वास र पेट सम्बन्धी विभिन्न समस्याले बढी सताउँछ ।” उहाँका अनुसार श्वासप्रश्वाससम्बन्धी समस्यामा रुघाखोकी, सामान्य भाइरस, फ्लु घाँटी दुख्ने, पिनास, टन्सिललगायतका देखिने गर्छ ।  

जाडो मौसममा विशेषतः दुई प्रकारका सरुवा रोग श्वासप्रश्वास र पेटसम्बन्धी विभिन्न समस्याले बढी सताउँछ ।

त्यसैगरी, पेटसम्बन्धी समस्यामा पेट दुख्ने, डाइरिया हुने, वान्ता हुने, पखाला लाग्ने, बच्चालाई रोटा भाइरस र वयस्कहरुलाई नोरो भाइरस देखिने डा. पुनको भनाइ छ । जाडोमा स्क्रब टाइफसको समस्या पनि देखिने उहाँले बताउनुभयो ।  

जाडोमा दीर्घरोग बढ्ने जोखिम  

वीर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. ध्रुव गैरेले जाडोमा दीर्घरोगहरु बढ्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, “जाडोयाममा चिसो बढी हुनेभएकाले शारीरिक व्यायाम कम हुने र खाना पनि अन्य बेलाभन्दा बढी खाइने भएकाले मधुमेह, उच्च रक्तचाप, मुटुरोग, बाथरोगजस्ता समस्या बढ्छ ।”

जाडोमा सीओपीडी सम्बन्धी समस्या बढ्ने दम लगायतका छातीसम्बन्धी समस्या बढेर निमोनिया हुने डा. गैरेको भनाइ छ । चिसोमा आँखाको सङ्क्रमण पनि बढ्ने गर्छ । चिसो हावा र सुख्खा हावाले आँखा रातो हुने, पोल्ने, सुख्खा हुने समस्या बढी देखिने चिकित्सकहरु बताउँछन् । त्यसका अतिरिक्त जाडोमा सुख्खा मौसम हुने हुँदा आँखामा धुलो धुवाँले गर्दा विभिन्न समस्या देखिने गर्छ ।

चिसोले गर्दा रगतको नसा खुम्चिने र व्यायाम कम हुने कारणले हृदयघातलगायतका मुटुसम्बन्धी समस्या बढ्ने चिकित्सकहरुको भनाइ छ । 

चिसोमा हृदयघातको जोखिम 

चिसोले गर्दा रगतको नसा खुम्चिने र व्यायाम कम हुने कारणले हृदयघातलगायतका मुटुसम्बन्धी समस्या बढ्ने चिकित्सकहरुको भनाइ छ । त्यसका साथै जाडोमा नसासम्बन्धी र जोर्नीसम्बन्धी समस्या बढ्ने गर्छन् । जोर्नी दुखाइ र बाथ रोगले चिसोमा विशेषगरी ज्येष्ठ नागरिकलाई बढी सताउने चिकित्सक बताउँछन् । 

जाडोमा छालारोग 

छाला तथा यौनरोग विशेषज्ञ डा. सञ्जुबाबु श्रेष्ठले जाडो मौसममा सुख्खा छाला हुनुका साथै हात, खुट्टा, ओठ फुट्ने जस्ता समस्या बढी देखिने बताउनुभयो । त्यसबाहेक, छाला खस्रो हुने, चिलाउने, शरीरबाट पाप्रा निस्कने, चिसोले हातखुट्टा सुन्निने, रातो फोका आउने, छालामा नीलो र रातो डाम देखिने, एलर्जी हुनेजस्ता समस्या देखिने डा. श्रेष्ठको भनाइ छ । 

उहाँका अनुसार यो मौसममा हातखुट्टा, कान, नाक, मुखलगायत कपडाले नछोपिने भागमा बढी असर गर्ने गर्छ । धेरै चिसोमा मानिसले कम पानी पिउँदा र खानपानमा ध्यान नदिँदा छालामा समस्या देखिन्छ ।

जोखिम समूह

रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस बढी प्रभावित हुने फिजिसियन डा. गैरेले बताउनुभयो । बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई चिसोले बढी सताउने हुँदा विशेष ध्यान दिन चिकित्सको सुझाव छ । चिसोमा तराई र मध्यपहाडी जिल्लाहरु बढी प्रभावित हुनेहुँदा चिसोबाट बच्न चिकित्सकले सुझाव दिनुभएको छ । 

विशेषगरी, मोटरसाइकल, स्कुटर चलाउनेहरुलाई सिधा छातीमा असर गर्ने हुँदा छाती बचाउन चेस्ट गार्ड र हावा नछिर्ने, ज्याकेटको प्रयोग गर्न चिकित्सको सुझाव छ । 

चिसोबाट कसरी बच्ने 

चिसोबाट बच्न अनावश्यक काम बाहेक अन्य बेला घरबाट बाहिर ननिस्कन र निस्कनुपरेमा न्यानो लुगा लगाएर हिँड्न डा. गैरेको सुझाव छ । उहाँका अनुसार जाडोमा छातीसम्बन्धी समस्या देखिन सक्छ  । त्यसैले विशेषगरी, मोटरसाइकल, स्कुटर चलाउनेहरुलाई सिधा छातीमा असर गर्ने हुँदा छाती बचाउन चेस्ट गार्ड र हावा नछिर्ने, ज्याकेटको प्रयोग गर्न चिकित्सको सुझाव छ । 

बालबालिका र ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बिहान–बेलुका विशेष ध्यान दिनुपर्ने डा. गैरेको सुझाव छ । उहाँ भन्नुहुन्छ, “गर्भवती, बालबालिका, ज्येष्ठ नागरिकलाई राति सुत्दा न्यानो लुगा लगाइदिने राति बेला–बेलामा लुगा ओढे नओढेको जाँच गर्नुपर्छ ।” 

त्यस्तै, जाडोमा हुस्सु लाग्ने र शीत पर्ने हुँदा बिहानै मर्निङवाक नजान डा. गैरेको सुझाव छ । उहाँ भन्नुहुन्छ, “बिहानै हिँड्दा अत्यधिक चिसोले रक्तनली साँघुरिएर मुटुमा समस्या आउने र हृदयघातसमेत हुने सम्भावना बढ्ने भएकाले बिहानभन्दा घाम लागेपछि न्यानो लुगा लगाएर मर्निङवाकमा जानु उपयुक्त हुन्छ ।” 

जाडोमा जोर्नी दुख्ने समस्या पनि धेरैमा देखिन्छ । यस्तो समस्याबाट बच्न न्यानो भई बस्न आगो, हिटर, घाम ताप्न चिकित्सकको सुझाव छ । 

बिहानै हिँड्दा अत्यधिक चिसोले रक्तनली साँघुरिएर मुटुमा समस्या आउने र हृदयघातसमेत हुने सम्भावना बढ्ने भएकाले बिहानभन्दा घाम लागेपछि न्यानो लुगा लगाएर मर्निङवाकमा जानु उपयुक्त हुन्छ ।

प्रोटिनयुक्त खानेकुरा खाने

जाडोमा प्रोटिनयुक्त खानेकुराले शरीरमा तातोपन बढाउने हुँदा प्रोटिनयुक्त खानेकुरा खान चिकित्सको सुझाव छ । चिसोबाट बच्न तातो झोलिलो खानेकुरा तथा सागसब्जी प्रशस्त खाने, गेडागुडीको झोल बनाएर बेलाबेलामा खाँदा शरीर तातो बनाउन मद्दत गर्ने चिकित्सकहरु बताउँछन् । 

काममा हिंड्नुपर्ने मानिसलाई तातो लुगा लगाउने, बेला–बेला कालो चिया, कफी पिउने, तातो पानी पिउने गर्न चिकित्सकले सुझाव दिनुभएको छ । घाम लागेको बेलामा घाम तापेर बस्ने, आगो ताप्ने शरीरको तापक्रम सन्तुलन बनाएर राख्न चिकित्सको सुझाव छ । छालालाई न्यानो बनाउने बेला–बेलामा म्योस्चराइज क्रिम लगाउन चिकित्सकको सुझाव छ ।