कुन संयोगले जुरायो हाम्रो सम्बन्धलाई
जुन सम्बन्धको न आदि छ न अन्त्य
एउटा निराकार छवि बोकेर
मेरो हृदयलाई तिम्रो हृदयसँग
र तिम्रो हृदयलाई मेरो हृदयसँग गाँस्नको लागि
अलौकिक सपना एकाकार भइदिन्छ ।

जीवनको अद्भुत किस्सा बुन्नलाई
हरेक पल सम्झनाको कलम बनेर
तिम्रो लागि प्रेमपत्र कोरिरहन्छ
तिम्रो खोजीको लागि मेरो नयनको परेली
अविश्रान्त रूपमा मिलनको क्षितिजबाट
चियाइरहन्छ सम्झनाको कोसेली बोकेर ।

तिम्रो र मेरो प्रणय
भ्यालेन्टाइनको भन्दा मजबुत बनेर
लैला र मज्नुको भन्दा पृथक बनेर
एउटा छुट्टै इतिहास रच्नलाई
अनवरत रूपमा मीठो सौरभ बनेरबहिरहन्छ
हरेक स्पन्दनलाई स्पर्श गरेर
तिमी छौ र पो म छु भनिरहन्छ बाँच्नुको अर्थले

तिमी त मेरो लागि त्यस्तो उर्जा हौ
जसलाई निस्तेज बनाउने बर्कत
न हिजो कसैसँग थियो न आज कसैसँग छ
तिमी त मेरो लागि त्यस्तो खास माने हौ
जसको अर्थलाई सीमाकृत गर्न कुनै शब्दकोश नि
तम्तयार हुन सक्दैनन्
तिमी त मेरो लागि जीवनको पर्याय हौ
मीठो निद दिने अदृश्य सपना हौ
स्मरण रहोस् तिमी त मेरो सदाबहार भ्यालेन्टाइन हौ ।

गंगा खड्का

रचनाकार बाल विकास बोर्डिङ्ग हाई स्कूलमा शिक्षिकाका रुपमा कार्यरत हुनहुन्छ।