बूढानीलकण्ठ नगरपालिका वडा नं ४ रुद्रेश्वरमा एक व्यक्ति आत्महत्या गरि झुण्डिएको अवस्थामा फेला परेका छन्। आज बिहान करिव १० बजेको समयमा मृत अवस्थामा भेटिएका व्यक्ति ३८ वर्षीया रहेको र तेन्जिङ्ग शेर्पा नाम गरेका मृतक हाल बूढानिलकण्ठ नगरपालिका वडा नं ४ मा बहालमा बस्दै आएको प्रभागका प्रमुख गिरीले जानकारी प्रदान गर्नुभएको छ। उक्त व्यक्तिको स्थायी ठेगाना सुनपाती गाउँपालिका वडा नं ३ रामेछापमा रहेको खुलेको छ। 

हाल रुद्रेश्वर स्थित गम्भिर उप्रेती नामक व्यक्तिको जस्ताको टहरामा भाडामा बस्दै आएको बताइएको छ। मृतकले  केबुलको तारले पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको गिरीले जानकारी दिनुभएको छ। 

उक्त मृतकको आफ्नो श्रीमतीसँग केहि दिन अघि मात्रै झगडा भएको कारण आत्महत्या गरेको हुनसक्ने आशंका रहेको गिरीले बताउनुभयो। 

मृतक व्यक्तिको खबर प्राप्त भएपश्चात् तत्काल महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रमुख प्र.नी भुपेन्द्र गिरीको कमाण्डमा टोली खटीई घटनास्थलमा पुगेको थियो। सो व्यक्तिको घटना विवरण संकलन गरि मुचुल्का तयार पारी मृतकलाई पोसमार्टमका लागि त्रि.वि शिक्षण अस्पतालमा पठाइएको प्रमुख गिरीले बताउनुभयो। 

मृतकको अन्य विवरण तथा अनुसन्धानको कार्य भइरहेको समेत गिरिले जानकारी प्रदान गर्नुभएको छ।