काठमाण्डौँ, पुस १५ गते । तमु समुदायले मनाउने तमु ल्होसार पर्व बिहीबार धुमधामका साथ मनाइएको छ । तमु समुदायमा नयाँ वर्षको आगमनको खुसियालीमा विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होसारले आफ्नै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्छ ।

तमु समुदाय सदियौँदेखि आफ्ना रीति, परम्परा तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेको छ । देशभरका विभिन्न ठाउँमा जस्तै काठमाडौंको टुँडिखेलमा औपचारिक कार्यक्रम गरेर ल्होसार मनाइएको हो । उक्त अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण र संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

तमु ल्होसारको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले गुरुङ समुदायको तमु ल्होसार पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा समुदायले पु¥याउँदै आएको योगदानलाई उजागर गर्दै समुदायको सभ्यता र संस्कृतिलाई अन्य समुदायसमक्ष चिनाउन मद्दत गर्ने बताउनुभयो ।

‘तमु ल्होसार पर्वले तमु समुदायहरुमा विभिन्न वर्ग, संस्कृति, समुदाय र क्षेत्रसँग सम्वद्ध नागरिकको बीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो । साथै उहाँले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यस्तै विविधताभित्र एकता र सामाजिक सद्भाव कायम गर्ने कुराहरु हाम्रा सांस्कृतिक सभ्यासका असल उदाहरण भएको समेत बताउनुभएको छ ।गुरुङ समुदायले बिहीबार गाई वर्ग (ल्वो ल्ही)को बिदाई र बाघ वर्ष (तो ल्हो) स्वागत गर्दै देश–विदेशमा तमु ल्होसार मनाएको हो । गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वतलगायतका जिल्लामा यो पर्व अपार उमङ्गलका साथ मनाउने गरिन्छ ।

ल्होसारको अवसरमा टुँडिखेलम तमु समुदायले सांस्कृति झाकी र नित्य प्रस्तुत गरेका छन् ।