भदौ १० गते रसुवामा आएको विनाशकारी हिमबाढीपछि बेपत्ता भएका आफ्ना प्रियजनको खोजीमा आफन्तहरू यतिबेला काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भौँतारिरहेका छन्। अस्पतालको भित्तामा टाँसिएका बेपत्ताका तस्बिर, अस्पताल परिसरमा सुनिएका कारुणिक चित्कार र आफन्तको गहभरी आँसुले त्यहाँको वातावरण अत्यन्तै शोकमग्न बनाएको छ।
जुम्लादेखि काठमाडौँसम्मको पीडादायी यात्रा
जुम्ला पातारासी गाउँपालिका–४, तिर्खुका हरिबहादुर बोहोरा आफ्ना ३१ वर्षीय छोरा सम्राट बोहोराको खोजीमा जुम्लादेखि दुई दिनको कठिन यात्रा गरेर काठमाडौँ आइपुग्नुभएको छ। मलेसिया जाने भिसा प्रक्रियाका क्रममा काठमाडौँ आएका सम्राट समयको सदुपयोग गर्दै रसुवाको जलविद्युत् आयोजना (ड्याम नम्बर १६) मा काम गर्न पुगेका थिए। रसुवा पुगेको तेस्रो दिनमै हिमबाढी आएपछि उनी बेपत्ता भएका हुन्।
अस्पतालको भित्तामा छोराको फोटो टाँस्दै हरिबहादुरले भन्नुभयो, “छातीमा ट्याटु भएको ३१ वर्षको छोरालाई जसले जुन अवस्थामा देखे पनि खबर गरिदिनुहोला।” सम्राटकी डेढ वर्षकी छोरी छिन्।
त्यस्तै, जुम्ला पातारासी–४ कै १८ वर्षीय चन्द्र बोहोरा पनि रसुवाको हाकुबेँसी २१६ ड्याम साइटबाट बेपत्ता छन्। भाइको खोजीमा अस्पताल पुग्नुभएका गणेश बोहोराले अस्पतालमा राखिएका शवका तस्बिरमा भाइको हुलिया नभेटिँदा चिन्ता झन् बढेको बताउनुभयो।
सपनासँगै अस्ताएका आशाका किरण
रामेछाप सुनापतीकी चन्द्रकुमारी मानन्धर आफ्नी छोरी पार्वती मानन्धरको खोजीमा शिक्षण अस्पताल परिसरमा भेटिनुभयो। रसुवा टिमुरेस्थित अध्यागमन कार्यालयमा खरदार पदमा कार्यरत पार्वती भर्खरै सरकारी सेवामा प्रवेश गरेकी थिइन्।
“साउन र भदौको तलब आएपछि घरमा पानीको ट्याङ्की बनाउँछु र भाइहरूको पढाइ खर्च बेहोर्छु भनेकी थिई,” आँसु पुछ्दै चन्द्रकुमारीले भन्नुभयो। छोरी सकुशल फर्किने आशा अझै नमरेको उहाँको भनाइ छ।
बेपत्ताका कारुणिक कथाहरू
-
मुन्ना अन्सारी (वीरगन्ज): भदौ ९ गते चीनको बोर्डर पुगेको र भोलिपल्ट सामान लिएर फर्कने फोनमा बताएपछि उनी निरन्तर सम्पर्कविहीन छन्।
-
विनोद परियार (२३ वर्ष): ७९ वर्षका वृद्ध हजुरबुबा बिजुले परियार आफ्ना नातिको खोजीका लागि सञ्चारकर्मीहरूसँग गुहार माग्दै रोइरहेका भेटिन्छन्।
-
अनुजकुमार मिर्दहा (२२ वर्ष, सर्लाही): रसुवा हाइड्रोपावरमा कार्यरत अनुजले भदौ ९ गते घरमा फोन गरेर रक्षाबन्धनका दिन घर आइपुग्ने बताएका थिए। अस्पतालको भित्तामा मुस्कुराइरहेको भतिजाको फोटो देखेर उनकी फुपूदिदी रञ्जिताकुमारी सम्हालिन नसकेर डाँको छोडेर रोइन्।
त्रिवि शिक्षण अस्पताल परिसरमा अहिले सास वा लास—जे भए पनि आफ्नो मान्छेको अत्तोपत्तो पाइयोस् भन्ने एउटै चाहना बोकेर सयौँ आफन्तहरू पर्खाइमा छन्। अस्पतालका भित्तामा टाँसिएका तस्बिरहरूले रसुवा हिमबाढीले निम्त्याएको पीडा र त्रासदीको दर्दनाक तस्वीर बोलिरहेका छन्।

प्रतिकृयाहरु