थाइल्यान्डको उत्तरपूर्वी मुकदाहान प्रान्तमा ११ वर्षीय बालकले अनुमति बिना आफ्ना अभिभावकको पिकअप ट्रक चलाउने क्रममा भएको भीषण दुर्घटनामा आठ जना बौद्ध भिक्षुको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनाको समयमा ३५ जना बौद्ध भिक्षु र पाँच जना सर्वसाधारण अनुयायी धार्मिक तीर्थयात्राका क्रममा सडक किनार हुँदै हिँडिरहेका थिए। सोही क्रममा बालकले अनुमति बिना चलाएको पिकअप ट्रक नियन्त्रण बाहिर गई धार्मिक जुलुसमा ठोक्किएको थियो।
दुर्घटनामा पाँच जना भिक्षुको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका थप तीन जनाले अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका हुन्। घाइतेहरूको मुकदाहान अस्पतालमा उपचार भइरहेको छ।
मुकदाहान प्रान्तीय प्रहरी प्रमुख मेजर जनरल पैरोज थाइफुत्साले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन गाडीलाई प्राविधिक परीक्षणका लागि पठाइएको जानकारी दिनुभयो। उहाँका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ भने बालकका अभिभावकलाई पनि सोधपुछका लागि बोलाइएको छ। बालकको जिम्मेवारी कसको थियो भन्ने आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
मुकदाहान सिटी प्रहरी प्रमुख प्रयुत रुआनथोङ्कमले दुर्घटनामा संलग्न चालक ११ वर्षीय बालक रहेको पुष्टि गर्नुभयो। दुर्घटनालगत्तै उद्धार टोली तथा आपत्कालीन स्वास्थ्यकर्मी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएका थिए।
यस घटनाप्रति दुःख व्यक्त गर्दै मुकदाहानका प्रान्तीय गभर्नर वोरायन बुन्नारतले सडक सुरक्षाप्रति सबैले थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले पछिल्ला वर्षहरूमा सडक सुरक्षा सम्बन्धी नियमहरू कडा बनाइए पनि यस्ता दुःखद दुर्घटना रोक्न अभिभावक, समुदाय तथा सम्बन्धित निकाय सबैको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो।
यस घटनाले सवारीसाधन बालबालिकाको पहुँचबाट टाढा राख्ने, अभिभावकले सवारीको जिम्मेवार व्यवस्थापन गर्ने तथा सडक सुरक्षाका नियमहरूको कडाइका साथ पालना गर्ने विषयमा पुनः गम्भीर बहस सुरु गराएको छ।
रासस/एएफपी

प्रतिकृयाहरु