नेपाली समुदायबीच संयुक्त अधिराज्य (बेलायत) मा लोकप्रिय नेपाली मेला-२०२३ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

तमुधि युकेले लण्डनस्थित क्याम्पटन पार्कमा आइतबार आयोजना गरेको  नेपाली मेलाको मुख्य आकर्षण एम्बेसडर कप किराँत राई यायोक्खा युकेले हात पारेको छ । यसैगरी घान्द्रुक समाज युके, दोस्रो र पासा पुच गुठी युके तेस्रो भएका छन् ।  

विजेतालाई एक हजार १०० पाउन्ड, दोस्रोलाई ७०० पाउन्ड र तेस्रोलाई ५०० पाउण्डसहित मेडल प्रदान गरिएको थियो । नेपाली मेलाको झाँकीतर्फ पनि किराँत राई यायोख्खा युके प्रथम बन्न सफल भएको छ । यसैगरी, पासा पुच गुठी युके दोस्रो र घान्द्रुक समाज युके तेस्रो भएको छ । 

झाँकीतर्फ प्रथम हुनेले ५००, दोस्रोले ३०० र तेस्रो स्थानले २०० पाउण्ड हात पारेका छन् । यसैगरी नृत्यतर्फ घान्द्रुक समाज युके प्रथम र किरात राई यायोक्खा दोस्रो भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले कला संस्कृति र भेषभुषाको प्रवर्धन गर्दै आपसी सहभाव र सहकार्य बढाउन नेपाली मेलाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

राजदूत आचार्यले नेपाली स्वदेश वा विदेश जहाँ रहे पनि आफ्नो पहिचान,भेषभुषा,कला,संस्कृतिलाई सँगै अगाडि लिएर हिडने कुरा यो कार्यक्रमले पुष्टि गरेको बताउनुभयो । जतिसुकै टाढा र जस्तोसुकै परिवेशमा बसे पनि त्यहाँको समाजमा बसेर आफ्नो पहिचानलाई सँगै लिएर जानु नमुनायोग्य भएको बताउनुभयो । 

उहाँले विदेशी भूमिमा बसेर आफ्नो समुदायको पहिचानको जगेर्ना गर्नु सराहनीय रहेको बताउनुभयो । आफ्नो संस्कृति र संस्कारलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न यस्तो कार्यक्रमले सहयोग गर्ने पनि उहाँले बताउनु भयो । 

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाको सांसद खमबहादुर (खमबिर) गर्बुजा, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि,गैरआवासिय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुल आचार्य, सगरमाथा आरोही हरि बुढामगर र दिया पुनलगायतको उपस्थिति रहेको थियो । 

तमुधी युकेका अध्यक्ष हरि गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका महासचिव डा.विशाल गुरुङले गर्नुभएको थियो । मेलाको प्रमुख संयोजकमा परशुराम गुरुङ रहनुभएको थियो । 

नेपाली राजदूतावास लण्डनको सहकार्यमा सम्पन्न कार्यक्रममा २९ वटा सङ्घसंस्थाले आ–आफ्नो संस्कृतिमा आधारित झाँकी र १२ वटा समूहले सांस्कृतिक कार्यक्रममा भाग लिएका थिए । मेलामा विभिन्न व्यावसायिक, खुद्रा पसल,च्यारिटीलगायतका स्टल राखिएको थियो ।