बूढानिलकण्ठ नगरपालिका वडा-५ मा रहेको साविकको बिष्णु गाउँपालिका वडा-८ (घ )कित्ता न ६० को क्षेत्रफल  ०६ - २ पैसा जग्गा २०४६ सालमा कृष्ण बहादुर शाहीको नाउँमा दर्ता श्रेस्ता रहेको जग्गा नामसारीको बिषयमा वडा -५ को कार्यालयले नामसारी सिफारिस रोकिदिए पछि वडा कार्यालयलाई विपक्षी बनाई निवेदक कान्छी ठकुरीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराउनु भएको थियो।

आफ्नो पति कृष्ण बहादुर शाहीको नाउँमा दर्ता श्रेस्ता रहेको कित्ता न ६० जग्गा नामसारीको सिफारिसको लागि वडा-५ को कार्यालय र वडा अध्यक्षले विभिन्न वहाना गरि जग्गा सिफारिस नदिएपछि पिडित कान्छी ठकुरीले दिएको निवेदन अनुसार २०८०/१/३० गतेका दिन उच्च अदालत पाटनले परमादेश जारी गरेको थियो। 

उच्च अदालत पाटनले दिएको परमादेशमा जग्गा सिफारिस बिषयमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन् नपर्ने हो ? माग  बमोजिमको आदेश जारी हुन् नपर्ने कुनै आधार , कारण र प्रमाण भए सो समेत उल्लेख गरी सूचना म्याद प्राप्त भएको मितिले म्याद बाहेक १५ दिन भित्र आँफै वा  आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ प्रस्तुत आदेश र निवेदनको प्रतिलिपि समेत साथै राखी पेश गर्नु भनि लेखेको छ। 

जग्गा नामसारीको बिषय वडा-५ को कार्यालय हुँदै बूढानिलकण्ठ नगरपालिकाको न्यायिक समितिमा २०७९/०८/२७ गतेका दिन निवेदन परेको थियो। निवेदन परेता पनि न्यायिक समिति बाट २०७९ पौष १९ गते वडा-५ का अध्यक्ष कृष्ण ठकुरीको नाममा उपस्थिति हुनु भन्ने लेखिएको पत्र बाहेक अन्य कुनै कानुनि प्रक्रीया अघि बढेको देखिदैन। यस किसिमका विवाद ,मुद्धा स्थानीय तहमा नै सम्पादन हुनु पर्नेमा निर्वाचित जन प्रतिनिधिहरु, पार्टीका कार्यकर्ताहरुको प्रभावमा पर्दा निस्पक्ष न्याय प्रदान गर्ने बिषयमा प्रश्न चिन्ह खडा भएको छ।  

कानुन बमोजिम आवस्यक सम्पूर्ण कागजातहरु उपलव्ध गराउँदा पनि वडा -५ को कार्यालयले जग्गा नामसारीको सिफारिस नदिएपछि अदालत जान बाध्य भएको पिडित पक्षको तर्क रहेको छ। काठमाडौँ जिल्ला कार्यालयले २०४६/५/११ गतेका दिन कृष्ण बहादुर शाही ठकुरी र कान्छी ठकुरी बिच दिएको नाता प्रमाणित पत्रको आधारमा २०७९ /७ /२० गते का दिन वडा-५ को कार्यालयले पिडितका श्रीमान् कृष्ण बहादुर शाही ठकुरीको २०३४ सालमा मृत्यु भएको भनि सिफारिस प्रदान गरेको थियो। यसै गरी २०७९/०७/२३ गते नै कान्छी ठकुरीले जग्गा नामसारीको निवेदन दिएता पनि वडा ५ का अध्यक्षले स्थानीयको सर्जमिन गरी लेराउनु भनि मौखिक आदेश पश्चात स्थानीयको हस्ताक्षर सहितको सर्जमिन मुचुल्का सहितको पत्र बुझाउँदा पनि बूढानिलकण्ठ नगरपालिका वडा-५ का अध्यक्षले हाल सम्म पनि जग्गा नामसारी सिफारिस दिएको छैन।