नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रिय सदस्य एंव संघीय सांसद रामकुमारी झाँक्रीले राष्ट्रपति र उपराष्ट्रपतिले आफु संवैधानिक भएको विर्सिएर कार्यकारी तर्फ लम्किएको आरोप लगाएकी छन् । नेतृ झाँक्रील नेकपा भित्र अराजकता बढेकोले तत्काल समस्या समाधान नभए ठुलै संकट आउनेमा समेत चिन्ता व्यक्त गरेकी छन् ।अहिले अन्तरविरोध सघन बनिरहेको छ । पछिल्लो अन्तरविरोधमा पूर्वएमालेकै दुई गुट बढी सक्रिय देखिएका छन् । एकातिर केपी ओलीको गुट छ भने अर्कोतिर माधव नेपालको ।

यहीवीचमा २२ जना केन्द्रीय सदस्यले बुधबार महासचिव विष्णु पौडेललाई भेटेर पार्टी अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएका छन् । त्यसमध्ये झाँक्री समेत हुन् ।जनताले धेरै प्रश्नहरु गरेको बताउँदै पार्टी र सरकारप्रति यस्ता प्रश्नहरु पनि छन्, सचेत हुनुस् भनेर ज्ञापनपत्र बुझाएको स्पष्ट पारेकी छन् । उनले दिगम्बर झा नियुक्ती देखि निर्मला पन्त हत्याकान्ड, तथा राष्ट्रपतिको सेवा सुविधाका विषयमा समेत सरकारले गलत गरको आरोप लगाएकी छन् ।

उनले कुकाकानीमा भनेकी छन्–राष्ट्रपति भनेको त संवैधानिक मात्र होइन, सम्मानित र मुलुकलाई एक ठाउँमा बाँधीराख्ने पद हो । तर, आज राष्ट्रपति पद नै सबैभन्दा बढी विवादित बनाइएको छ । उनले वीर अस्पतालको डाक्टरको प्रश्नको जवाफ समेत मन्त्री र सरकारले दिन पर्ने बताइन ।

उनले राष्ट्रपतिलाई विवादमा पार्नु गलत भएको बताउँदै आजका राष्ट्रपति, उपराष्ट्रपतिले हामी सेरेमोनियल हौं भन्ने बिर्सिएर कार्यकारी हौं, यहाँबाट शक्ति आर्जन गरेर फेरि निर्वाचनमा गएर अझै तामधामका साथ राजकीय शक्तिमा विराजमान हुन्छौं भन्ने मनोविज्ञान बनाएको हो कि भन्ने आशंका समेत व्यक्त गरेकी छन् । उनले भनिन– माफ गर्नुहोला, हाम्रो संविधानले संवैधानिक राष्ट्रपतिलाई कार्यकारीका रुपमा चिन्दैन । सरकारले गरेको निर्णयमा लालमोहर लगाउने बाहेक केही काम पनि छैन ।