नेपाली रंगमञ्चका लागि २०७५ साल ऐतिहासिक रह्यो। कौसी थिएटर, मण्डला थिएटर, थिएटर मल र शिल्पी थिएटरको संयुक्त आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय स्तरको नाटक महोत्सव सम्पन्न भयो। 

‘सामाजिक रूपान्तरणका लागि कलात्मक अभिव्यक्ति’ भन्ने नाराका साथ फागुन १३ गतेदेखि २० गतेसम्म अन्तर्राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको थियो। महोत्सवमा नेपाल, भारत, नर्वे, श्रीलंका, डेनमार्क, इटाली, बंगलादेशलगायत नौ देशका ३० वटा नाटक मञ्चन भए। यसका लागि १३ देशका दुई सय रंगकर्मी राजधानीमा उपस्थित भएका थिए। 

यस क्रममा रंगमञ्चमा विभिन्न आयामको बारेमा स्वदेशी तथा विदेशी कलाकारबाट छलफल, अन्तरसंवाद तथा वर्कसप पनि सञ्चालन गरिएको थियो। राजधानी बाहिर विराटनगर, जनकपुर, पोखरालगायतका ठाउँमा पनि विभिन्न नाटक मञ्चन भए।

यस्तैगरी राष्ट्रिय नाचघरले राष्ट्रिय नाटक महोत्सव पनि सञ्चालन गर्यो। महोत्सवमा देशका विभिन्न ठाउँबाट स्थानीय स्तरमा मञ्चन गरिएका नाटक प्रदर्शन भएका थिए। विभिन्न धर्म र भाषाका नाटक पनि महोत्सवमा अटाएका थिए। यो वर्ष शैली थिएटरको आयोजनामा बालनाटक महोत्सव सञ्चालन भएको थियो। 

लालाबाला समूहको बालनाटक ‘हिरोज डन्ट कम’ प्रदर्शनका लागि केही बालकलाकारको टोलीसँग बेलारुस जाने मौका पायो। बेलारुसमा यो नाटकले चार विधामा अवार्डसमेत प्राप्त गरेको थियो। यसैगरी थ्री सिस्टर, नौगेडीलगायतको नाटकले मञ्चनका लागि अन्तर्राष्ट्रिय मञ्च प्राप्त गरे।

पछिल्लो समय रंगमञ्चमा भित्रिनेको संख्या पनि उत्साहजनक रूपमा बढ्दो छ। विभिन्न थिएटरमा खुलेका अभिनय क्लास र रंगमञ्चप्रति उदार हुँदै गएको समाजको दृष्टिकोणले पनि युवा पुस्ता रंगमञ्चप्रति आकर्षित भएको देख्न सकिन्छ।

पछिल्लो समय नेपाली रंगमञ्चको आगन उर्वर देखिएको छ। २०७५ सालमा मञ्चन भएका धेरै नाटकले दर्शकको मन तान्न सफल भए। शिल्पी थिएटरमा प्रदर्शन भएको शकुन्तलाको औंठी ऐतिहासिक कथावस्तुमा आधारित नाटक थियो। नाटक ‘शकुन्तलाको औंठी’ कालीदासको नाटक ‘अभिज्ञान शाकुन्तलम्’ बाट साभार गरिएको कथा थियो। 

यो नाटकमा रंगमञ्चभित्रको अर्को रंगमञ्च देखाइएको थियो। यस्तै बाथटब नाटकले पनि दर्शकको माया पायो। प्रयोगात्मक शैलीमा मञ्चन गरिएको यो नाटकले नेपाली रंगमञ्चको क्षेत्रमा नौलो शैली भित्र्याउन सफल भयो। यो नाटकमा एउटा लेखक आफ्नै पात्रको विभिन्न आवेग र संवेदनासंग सात्क्षात्कर गरेको देखाइएको थियो।

यस्तै खबर हराएका चिठी, शंखी, सकेको तिरौला नत्र फिरिमा, मुनामदन, साथीको माया, सेम द नेक्ट इयर, लिलामे माइलो, दयालु रूख, पाँच, म्याड म्यान्स डायरी, परिबन्ध, बर्बरिकजस्ता नाटकले राजधानीको थिएटरमा दर्शकको माया पाए।

जननेता मदन भण्डारीको जीवनीमा आधारित नाटक बर्बरिकले राजनीतिक नेताको पनि ध्यान तान्न सफल भयो। कुञ्ज थियटरमा मञ्चन भएको झोराहाट नाट्य समूहको प्रस्तुति बर्बरिक नाटक झलनाथ खनाल, प्रदीप नेपाल, प्रदीप ज्ञवालीलगायतका नेताले हेरेका थिए।

‘खबर हराएको चिठी’ नाटक मार्फत दर्शकले द्वन्द्वकालीन घटना प्रत्यक्ष याद गरे। जनयुद्धमा छोरा गुमाएका आमाबाबुको पीडा र संवेदना यो नाटकले मार्मिक तरिकाले प्रस्तुत गरेको थियो।

यो वर्ष काठमाडांैमा दुईवटा नयाँ नाटकघर स्थापना भए। टेकुमा कौसी थिएटर र कीर्तिपुरको राराहिल स्कुलमा थिएटर मलको स्थापना भयो। कौसी थिएटमा प्रदर्शन भएको दयालु रूख नाटकले मानिसको सुखको लागि अनवरत रूपमा प्रकृतिले साथ दिने हुनाले रूखको संरक्षण गर्न आह्वान गरिएको थियो। 

यस्तै सेम द नेक्ट इयर नाटक अंग्रेजी भाषामा मञ्चन गरेर निर्देशक आकांक्षा कार्कीले विदेशी दर्शकलाई समेत नेपाली थिएटरमा जाने वातावरण निर्माण गरिन्।

अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भएको कर्णाली प्रदेशको स्थानीयता बुझाउने ‘गर्भछिटा’ नाटकले विशेष महत्व पायो। नेपाली खस भाषामा मञ्चन भएको यो नाटकका कथा गीतिलयमा निर्माण गरिएको थियो। स्थानीय भेषभूषा र साम्रगीको प्रयोग गरिएको थियो। मण्डला थिएटरमा अहिले मञ्चन भइरहेको ‘जोखना’ नाटककले पनि दर्शकको मन जित्न सफल भएको छ।

राजधानीबाहेक अन्य ठाउँमा प्रदर्शन भएका जिउँदो मान्छे, एउटा यस्तो मान्छे, फु फु फु, मरीचको चुपी, इजलासको फैसलालगायतका नाटकले चर्चा कमाउन सफल रहे। रारा नाटक महोत्सवमा स्थानीय स्तरका १२ बटा नाटकले सहभागिता जनाएका थिए।

(अन्नपु्र्ण पोस्ट)